थप समाचारशुक्रबार, जेठ ९, २०७१
मानव बेचबिखन रोक्न नेपाल—भारत संयुक्त समिति
तुफान न्यौपाने, नेपालगञ्ज
माइती नेपाल र मानव बेचबिखन नियन्त्रण जिल्ला समिति बाँकेको आयोजनामा ८ र ९ जेठमा नेपालगञ्जमा सम्पन्न ‘मानव बेचबिखनविरुद्धको दुई दिने परामर्श वैठक’ ले संयुक्त समिति गठन गरेको हो । समितिमा नेपाल र भारत दुवै देशका सरकारी र गैरसरकारी कार्यालयका प्रतिनिधि छन् ।
समितिमा नेपालको तर्फबाट माइती नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सविन गुरुङ, केशव कोइराला, अशोकविक्रम जयरु, बासुदेव ज्ञवाली लगायत छन् भने भारतका डा. श्रीधर, तेजसिंह भण्डारी, रघु तिवारी र डा. ए ति ध्यानी छन् । १८ वटा संघसंस्थाका प्रतिनिधि सदस्य रहेको ‘इन्डो नेपाल ग्रुप’ मा बाँकेका प्रमुख जिल्ला अधिकारी जीवन कुमार ओली र भारतका बहराइच जिल्लाका एसडीएम आएको भारतको आलोककुमार बर्मा सल्लाहकार छन् ।
मानव बेचबिखन नियन्त्रणका लागि दुवै देशका सरकारी र गैरसरकारी संघसंस्था सम्मिलित समिति पहिलोपटक बनेको बताउँदै माइती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख केशव कोइरालाले बेचबिखन रोक्न समिति क्रियाशिल हुने बताए ।
समितिले सीमा नाकामा मानव बेचबिखन रोकथाममूलक कार्यक्रम गर्ने, श्रम र यौन शोषण तथा बेचबिखनमा परेकाको जानकारी तथा सूचना आदानप्रदान गर्ने, सहकार्य गरी उद्धार पुनस्र्थापना गर्ने काम गर्नेछ ।

