समाचारशुक्रबार, जेठ ९, २०७१
न्यायाधीश सुनुवाइ शुरु, पराजुली र उपाध्यायको सुनुवाइ
लामो विवादपछि संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि न्याय परिषदले सिफारिश गरेका आठ न्यायाधीशको सुनुवाइ शुरु गरेको हो । समितिले ९ जेठमा दुई जना न्यायाधीशको सुनुवाइ गर्यो ।
समितिले बिहान ८ बजे वैद्यनाथ उपाध्यायलाई र दिउँसो ३ बजे गोपाल पराजुलीलाई सुनुवाइका लागि बोलाएको थियो । सभासदले न्यायाधीश पराजुलीसँग विवाहको विषयलाई प्राथमिकताका साथ उठाएका थिए ।
उनीहरुले पराजुलीसँग कुन कानूनको आधारमा चार वटा विवाह गर्नुभयो भनेर प्रश्न गरे । उनी विरुद्ध २१ उजुरी परे पनि सभासदले विवाहकै विषयमा केन्द्रित रहेर बढी प्रश्न उठाएका थिए ।
जवाफमा न्यायाधीश पराजुलीले सभासदको प्रश्नप्रति असन्तुष्टी जनाएका थिए । उनले श्रीमतीको मृत्यु पछि दोस्रो विवाह गरेको बताए ।
उनले आफूलाई अराष्ट्रिय भनेर सम्बन्धबिच्छेद गराइएको पनि टिप्पणी गरे । प्रष्टिकरण दिने क्रममा निक्कै भावुक बनेका उनले भने, “मेरो बिहेबारे प्रश्न उठ्दा निक्कै दुःख लागेको छ, जेठी श्रीमतीको मृत्यु भएकाले अर्को बिहे गरेको हुँ, विवाह गर्नु मेरा बाध्यता थियो, संयोगवश दुई छोरा र पत्नी क्यान्सरबाट बित्नुभयो, यस्तो अराष्ट्रियले पनि स्वास्नी पाल्न सक्छ भनेर श्रीमतीलाई मबाट बिच्छेद गराइयो ।”
एक पूर्व प्रधानन्यायाधीशको मुद्दामा गरेको फैसलाका कारण आफूविरुद्ध खनिएको पनि उनले बताए ।
समितिले १० जेठमा अरु न्यायाधीशको सुनुवाई गर्नेछ । अझै ६ जना न्यायाधीशको सुनुवाइ बाँकी छ ।
न्याय परिषदले न्यायाधीशमा वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा र जगदिश शर्मा पौडेललाई सिफारिश गरेको थियो ।
————————————————————————————————————————————–
न्यायाधीश पराजुलीको सुनुवाइ चल्दै
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका लागि सिफारिश भएका गोपाल पराजुलीसँग सुनुवाइ गरिरहेको छ । सिंहदरबारमा ९ जेठ दिउँसो उनको सुनुवाइ चलिरहेको हो ।
सुनुवाइको शुरुवातमै उनले समितिमा आफ्नो भनाइ राखेका छन् । अहिले सभासदले प्रश्न सोध्ने क्रम जारी छ । उनले आजै सभासदको प्रश्नको जवाफ दिने छन् ।
समितिले ९ जेठ बिहान न्यायाधीश वैद्यनाथ उपाध्यायसँग सुनुवाइ गरेको थियो । अझै ६ न्यायाधीशको सुनुवाइ हुनु बाँकी छ ।
न्याय परिषदले ९ बैशाखमा न्यायाधीशमा वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा र जगदिश शर्मा पौडेललाई सिफारिश गरेको थियो ।
——————————————————————————————————————————————
सभासदद्वारा ढुंगेललाई सफाइ दिएको बारे न्यायाधीश वैद्यनाथसँग प्रश्न
संसदीय सुनुवाइ विशेष समितिका सभासदले स्थायी न्यायाधीशमा सिफारिश वैद्यनाथ उपाध्यायसँग बालकृष्ण ढुंगेललाई सफाइ दिएको बारे सोधेका छन् ।
सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिश भएका वैद्यनाथ उपाध्यायसँग संसदीय सुनुवाइ विशेष समितले सुनुवाइ गरेको छ । ९ जेठ बिहान सुनुवाइका लागि बोलाइएका उपाध्यायलाई सभासदहरुले ओखलढुंगा उज्जनकुमार श्रेष्ठ हत्याका दोषी बालकृष्ण ढुंगेललाई सफाइ दिनुको कारण बारे प्रश्न गरेका छन् ।
जवाफमा उपाध्यायले त्यो बेला ढुंगेलसम्म पुग्न सक्ने आफ्नो पहुँच नै नभएको बताए । उनले फैसला सुनाउने बेलामा ढुंगेलसँग पैसा माग्ने तागत कसैको नभएको बताए ।
उनले भने, “मैले पैसा खाएको शंका भए व्यक्तिगत सम्पत्ति छानबीन गरे हुन्छ ।” उनले समाजमा रहेको भ्रष्टाचारको प्रतिबिम्ब जताततै फैलिएको बताए ।
“मलाई प्रधानन्यायाधीश हुनु छैन,” सुनुवाइमा उनले भने, “तर, न्यायाधीश बन्न दिनोस् ।”
समितिका सभासदहरुले उपाध्यायको जवाफप्रति असन्तुष्टि जनाएका छन् । उपाध्यायले स्पष्ट जवाफ नदिएको र टालटुले जवाफ दिएर उम्कन खोजेको भन्दै सभासदले आपत्ति जनाए ।
समितिले ९ जेठ दिउँसो फेरि अरु न्यायाधीशसँग सुनुवाई गर्नेछ । न्याय परिषदले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश गरेका न्यायाधीशको समितिले ९ जेठदेखि सुनुवाइ शुरु गरेको हो ।
न्याय परिषदले ९ बैशाखमा न्यायाधीशमा वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा र जगदिश शर्मा पौडेललाई सिफारिश गरेको थियो ।
—————————————————————————————————————————————–
प्रस्तावित न्यायाधीशको सुनुवाइ चल्दै
संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लािग सिफारिश भएका न्यायाधीशहरुको सुनुवाइ शुरु गरेको छ ।
व्यवस्थापिका संसदअन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिले ९ जेठ बिहानदेखि प्रस्तावित न्यायाधीशको सुनुवाइ शुरु गरेको हो । लामो विवादपछि समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि न्याय परिषदले सिफारिश गरेका ८ न्यायाधीशको सुनुवाइ गरेको हो ।
सिंहदरबारमा न्यायाधीशहरुको सुनुवाइ चलिरहेको छ । न्याय परिषदले सर्वोच्च अदालतमा स्थायी न्यायाधीशका लागि ९ बैशाखमा नाम सिफारिश गरेको थियो ।
न्याय परिषदले न्यायाधीशमा वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ, ओमप्रकाश मिश्र, चोलेन्द्र समशेर राणा र जगदिश शर्मा पौडेललाई सिफारिश गरेको थियो ।
विवादास्पद छवि भएकालाई न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको भन्दै चर्को विवाद भएको थियो । लामो विवादपछि समिति न्यायाधीश सुनुवाइका लागि तयार भएको हो ।

