समाचारशुक्रबार, भाद्र २२, २०६९
‘नुन खाएको कुखुरा बनेको कांग्रेसलाई जुस’

तानसेनमा शुरु कांग्रेसको पश्चिमान्चल स्तरीय महासमिति सदस्यहरुको भेला तथा प्रशिक्षण कार्यक्रम । तस्बीरः देव पचभैया
देव पचभैया, पाल्पा
तानसेनमा २२ भदौमा शुरु पश्चिमान्चल स्तरीय महासमिति सदस्यहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनीहरुले आन्तरिक गुटबन्दी अन्त्य गरेर पार्टीलाई एक ढिक्का बनाउनु पर्नेमा जोड दिएका हुन । पार्टी एक नभएसम्म सरकारको नेतृत्व गर्नुको पनि अर्थ नहुने उनीहरुको भनाई थियो ।
कांग्रेस नेताहरु तारानाथ दाहाल, सुरेन्द्र पाण्डे, राजन पन्त, पूर्वसांसद हरी नेपाल, तानसेन नगरसमिति प्रमुख चकोरमान शाक्य, महिला संघकी अध्यक्ष डिला संग्रौला, नारायणदत्त मिश्र, गण्डक संयोजक कृष्ण नेपाललगायतले पार्टीका नेताहरु तीन तिर फर्किनाले इतिहास विरासत बोकेको कांग्रेस क्षयीकरणतर्फ गएको बताएका थिए ।
नेता, कार्यकर्ताको चर्को आलोचनापछि सभापति सुशील कोईराला र बरिष्ठ नेता शेरबहादुर देउवाले अंकमाल गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै सभापति कोईरालाले भने, ‘मेरो देउवाजीको या रामचन्द्रजी कस्को गल्ती छ कार्यकर्ताले भनिदिनु पर्यो सुधि्रन तयार छौ ।’ पार्टीमा गुटबन्दी हुनुमा कार्यकर्ताको पनि दोष रहेको कोईरालाको आरोप छ ।
कोईरालाले भन्दा पहिला आफ्ना धारणा राखेका देउवाले २०१७ मा दुई तिहाई २०४८ मा बहुमत ल्याएको पार्टी अहिले कमजोर बन्दै गएको भन्दै उनले सभापति कोईरालाको आलोचना गरेका थिए ।
२३ भदौसम्म चल्ने कार्यक्रममा पश्चिमान्चल विकास क्षेत्रका १६ जिल्लाबाट २४५ महासमिति सदस्य, विभिन्न भातृसंगठन तथा शुभच्छुक संस्था, विदेशस्थित सम्पर्क समितिका प्रतिनिधीहरु र जिल्लाका सभापतिसहित करिव ३ सय सहभागी छन् ।
कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले लोकतान्त्रिक समाजवादको राजनीतिक पक्षका बिषयमा र अर्थविज्ञ चिराजीवी नेपालले आर्थिक पक्षका बिषयमा कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । यस्तै केन्द्रिय सदस्य धनराज गुरुङ्ले नेपालमा संघीयताको सैद्धान्तिक तथा व्यवहारिक पक्ष चन्द्र भण्डारीले संघीयताको सैद्धान्तिक पक्षमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
महासमिति सदस्यहरुको कार्यक्षेत्र र भूमिकाका बिषयमा प्रकाशशरण महत र यज्ञ अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । संविधानसभामा कांग्रेसको प्रस्तुतीमा युवा नेता गगन थापाले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा कांग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य विनोद भट्टराई र सहप्राध्यापक देवराज चालिसेले प्रतिपक्षीहरुको प्रचार आक्रमण र प्रतिवाद बिषयमा कार्यपत्र प्रस्तुत गर्ने कांग्रेस पाल्पाले जनाएको छ ।
यसैगरी, जगदीशचन्द्र पोखरेल र तनहुँ सभापति धु्रव वाग्लेले कांग्रेस सरकारको समयमा भएका आर्थिक तथा सामाजिक उपलब्धिका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रमको समापनअघि वर्तमान संक्रमणकालीन राजनीतिक गतिरोध र त्यसको निकास सम्बन्धमा प्रशिक्षणका सहभागि महासमिति सदस्य तथा पार्टी नेतृत्वबीच खुला सम्वाद हुनेछ ।
