समाचारआइतबार, जेठ ११, २०७१
उपनिर्वाचन– कैलालीमा ७ जनाको उम्मेदवारी
कांग्रेस वरिष्ठ नेता एवम् सभासद शेरबहादुर देउवाले छोडेपछि रिक्त भएको कैलाली ७ मा हुने उपनिर्वाचनका लागि ११ जेठमा सात जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी दिनेहरुमा नेपाली कांग्रेसका पुष्करनाथ ओझा, नेकपा एमालेका महेश्वर पाठक, राप्रपाका गंगाराम राना, राप्रपा नेपालका राजेश भण्डारी, एमाओवादीका सुन्दरराज रेग्मी, मजदुर किसान पार्टीका रमेशकुमार रावल र सदभावना पार्टी आनन्ददेवीकी निर्मला रिजाल छन् ।
उनीहरु उम्मेदवारी दर्ताका लागि बाजागाजा र कार्यकर्ताको लस्कर लगाएर निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
८ असारमा हुने उपनिर्वाचनका लागि नेकपा–माओवादीले भने उम्मेदवारी दिएको छैन । यस अघि सुदूरपश्चिममा आन्दोलन गरेर चर्चामा रहेको अखण्ड सुदूरपश्चिम पार्टी नेपालले पनि उम्मेदावारी दिएको छैन ।
संविधानसभा निर्वाचनमा दुई ठाउँमा विजयी सभासदहरुले एक–एक स्थान छाडेपछि देशका ४ ठाउँ कैलाली क्षेत्र नम्बर ६, काठमाडौं २, चितवन ४ र बर्दिया १ मा उपनिर्वाचन हुदैछ ।
बच्चु विक, कैलाली
