समाचारसोमबार, जेठ १२, २०७१
प्रम कोइराला दिल्लीमा, अन्य देशका नेताहरु पनि पुगे
प्रधानमन्त्री कोइरालालाई भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर र शिष्टाचार महापाल रुचिरा कम्बोज, नेपालका लागि भारतीय राजदूत रञ्जित रे, नयाँदिल्लीस्थित कार्यवाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाललगायत कर्मचारीले स्वागत गरेको नेपाली दूतावासका काउन्सलर तीर्थराज वाग्लेले जानकारी दिए ।
नवनिर्वाचित प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोह आज साँझ ६ बजे तय भएको छ । त्यसअघि प्रधानमन्त्री कोइरालाले निवर्तमान प्रधानमन्त्री डा मनमोहन सिंहलगायत उच्च पदाधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ उनकी पत्नी कुलसुम नवाज र पुत्र हुसैन नवाजका साथ दिल्ली पुगेका छन् ।
अफगानिस्तानका राष्ट्रपति हामिद करजई, मरीशसका प्रधानमन्त्री नवीन रामगुलाम, श्रीलंकाका राष्ट्रपति महिन्दा राजपक्षे पनि शपथग्रहण समारोहमा सहभागी हुन दिल्ली पुगेका छन् ।
मोदी सरकारमा ४५ मन्त्री
भारतमा नरेंद्र मोदीको नेतृत्वमा बन्ने सरकार करिव ४५ सदस्यीय हुने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार रक्षा मन्त्रालय प्रधानमन्त्री मोदी आफैले राख्ने छन् भने सुषमा स्वराज विदेश मन्त्री, अरुण जेटली अर्थ मन्त्री र राजनाथ सिंह गृह मन्त्री हुने भएका छन् ।
रिटायर्ड आईपीएस अधिकारी अजीत डोवाल नयाँ राष्ट्रीय सुरक्षा सलाहकार बन्ने सम्भावना रहेको पनि बताइएको छ ।
त्यसैगरी नितिन गडकरी, वेंकैया नायडू, अनंत कुमार, रविशंकर प्रसाद, गोपीनाथ मुंडे, रामविलास पासवान, नजमा हेपतुल्लाह, मेनका गांधी, उमा भारती, डॉक्टर हर्षवर्धन, नरेंद्र सिंह तोमर, अनंत गीते, अशोक गजपति राजू, थावरचंद गहलोत, राधामोहन सिंह, कलराज मिश्र र सदानंद गौड़ा पनि सम्भावित मन्त्रीको सूचिमा छन् ।
संभावित राज्य मन्त्रीहरुमा हरसिमरत कौर, संतोष गंगवार, जनरल वीके सिंह, किरण रिजीजु, उपेंद्र कुशवाहा, स्मृति ईरानी, सत्यपाल सिंह, पीयूष गोयल, दिलीप गांधी, किरीट सोमैया, डॉ जितेंद्र सिंह, राजबीर सिंह, जुएल उरांव, श्रीपद नायक, धर्मेंद्र प्रधान, प्रकाश जावड़ेकर, राव इंद्रजीत सिंह र निर्मला सीतारमण छन् ।
मोदीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद धेरै ठूलो आकारको नहुने भन्दै विभागहरुको एकीकरण गरिने बताएका छन् ।
