समाचारसोमबार, जेठ १२, २०७१

असफल प्रेमविवाह– पीडित महिला नै

हिमालखबर

रेवती सापकोटा

तत्कालीन नेकपा माओवादीले ०५२ मा सशस्त्र सङ्घर्ष थाल्नुअघि कृष्णध्वज खड्का, हितमान शाक्य, मणि थापा, कृष्णसेन इच्छुक र रवीन्द्र श्रेष्ठजस्ता युवाको बीचमा अन्तरजातीय विवाह गर्ने कि सजातीय भन्ने विषयमा बहस हुन्थ्यो ।

भारतको माओवादी कम्युनिस्ट केन्द्रले ‘विवाह गर्ने तर छोराछोरी नजन्माउने’ भनी त्यतिबेला ल्याएको नीति पनि उनीहरूको बहसको विषय हुन्थ्यो । विवाह गरेर जनयुद्ध लड्न जाँदा जन्मिने छोराछोरीको अवस्था कस्तो हुनेजस्ता विषयमा उनीहरू छलफल गर्थे । अन्त्यमा उनीहरूले अन्तरजातीय विवाह गर्ने निष्कर्ष निकालेका थिए ।

हितमान शाक्यले अमृता थापामगरसँग, कृष्ण सेनले तक्मा केसीसँग, कृष्णध्वजले रेखा शर्मासँग, रवीन्द्र श्रेष्ठले लक्ष्मी श्रेष्ठसँग र मणि थापाले रञ्जना श्रेष्ठसँग विवाह गरे ।

प्रकाश दाहाल तेस्री पत्नी विना मगरका साथ

हितमान र अमृता नेकपा माओवादीको केन्द्रीय समितिमा छन् । एक वर्षसम्म चरम यातना पाएका कृष्णध्वज र रेखाको जोडी एमाओवादीबाट नेकपा माओवादी र अहिले पुनः एमाओवादीको केन्द्रीय समितिमा छन् ।

कृष्णसेन मारिएपछि तक्मा एकल महिला भएकी छिन् । माओवादीबाट एमाले प्रवेश गरेर सामान्य प्रशासनमन्त्री भएका ५० वर्षीय रवीन्द्र श्रेष्ठले २२ वर्षीया सुभेक्षा सिलवालसँग प्रेम गरी दोस्रो विवाह गरेका छन् ।

‘विवाह गर्ने, तर छोराछोरी नजन्माउने’ पक्षमा बहस गर्ने रवीन्द्र पहिली श्रीमती लक्ष्मीसँग सम्बन्धविच्छेद नगरी सुभेक्षालाई अर्की श्रीमती बनाएर माओवादी आन्दोलनका नकारात्मक पात्र बनेका छन् ।

संविधानसभा सदस्यसमेत रहेकी रेखा शर्मा भन्छिन्, ‘सुझबुझपूर्ण तरिकाले विवाह गर्नेहरूको समस्या आएको छैन, भावनामा बगेर विवाह गर्नेहरूमा समस्या देखिएको छ ।’

माओवादी सेनाकी पूर्वब्रिगेड कमान्डर कमला नहर्कीका अनुसार बहुविवाह, सम्बन्धविच्छेद र घरेलु हिंसाका घटना शान्तिप्रक्रियामा आएपछि बढेको छ । ‘सशस्त्र युद्धका बेला त्यस्ता घटना रोकिएका थिए, शान्तिप्रक्रियामा आएपछि हाम्रै पार्टीभित्र पनि त्यस्ता घटना हुन थाले,’ नहर्कीले भनिन् ।

सशस्त्र युद्धका बेला गोरखा कारागार तोडेर भाग्ने महिलामध्येकी एक नहर्की अहिले पार्टी सङ्गठनमा गोरखामा खटिएकी छिन् । उनले गत वर्ष माघमा हेटौँडामा भएको सातौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा बोल्दै अन्तरजातीय विवाह गरेका युवतीले घरेलु हिंसा व्यहोर्नुपरेको घटना विवरण सुनाएकी थिइन् ।

उनी भन्छिन्, ‘हामी ब्यारेकमा हुँदा बहुविवाह गरेका, सम्बन्धविच्छेद गरेका र श्रीमती पिटेका घटना मिलाउँदैमा हैरान थियाँै ।’

घरमा श्रीमती र छोराछोरी भइसकेको पार्टीको जिम्मेवार कार्यकर्ताले बहुविवाह गरेका घटनालाई नहर्कीले महाधिवेशनमा सशक्त रूपमा उठाएकी थिइन् । एमाओवादीबाट विद्रोह गरी नेकपा (माओवादी) गठन गरेका मातृका यादवकी छोरी सङ्गीता यादवसँग सम्बन्धविच्छेद नगरी दिलीपकुमार साहले अर्को विवाह गरेका छन् ।

साहले मातृकाको पार्टी र श्रीमती सङ्गीतालाई सँगसँगै छोडेका थिए । साहले एमाओवादीमा प्रवेश गरेपछि दोस्रो विवाह गरेका हुन् । मातृकाकी छोरी सङ्गीता र साहका दुई बच्चा छन् ।

सम्बन्धविच्छेद नगरी विवाह गरेपछि साहलाई मातृकाको सहयोगमा प्रहरीले पक्राउ गरे पनि कुनै कारबाही गरेन । गत मङ्सिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनका बेला आफूलाई अध्यक्ष पुष्पकमल दाहालको सहयोगीको रूपमा प्रस्तुत गरेका साह समानुपातिकको सूचीमा पनि थिए ।

बहुविवाहलाई कानुनले निषेध गरेको छ । तर, कानुनको उल्लङ्घन गर्ने क्रम पनि त्यत्तिकै बढिरहेको छ । ‘मुलुकको कानुन मान्न हरेक नागरिक बाध्य छन् । कानुनले बहुविवाहलाई निषेध गरेको छ, तर सानालाई ऐन र ठूलालाई चैन गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ र सबैलाई समान व्यवहार गर्नुपर्छ,’ एक अधिवक्ता भन्छन् ।

एमाओवादी अध्यक्ष दाहालपुत्र प्रकाशले पनि आफूले दोस्रो विवाह गरेकी सिर्जना त्रिपाठीसँग सम्बन्धविच्छेद नगरी विद्यार्थी नेतृ बिना मगरसँग तेस्रो विवाह गरे । सिर्जना कास्की जिल्ला कमिटीमा छिन् भने बिना संविधानसभा निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी थिइन् ।

बिनालाई उम्मेदवार नबनाउन एमाओवादीका महिला नेतृहरूले हस्ताक्षर अभियान सञ्चालन गरेर पार्टी नेतृत्वलाई हस्तान्तरण गरे पनि त्यसको सुनुवाइ भएको थिएन । नहर्की भन्छिन्, ‘हामीले आवाज उठायौँ, तर त्यस्ता कमरेडहरू अहिले पनि सङ्गठनमा काम गरिरहेका छन् ।’

उनका अनुसार अन्तरजातीय विवाह गरेका तल्लो तहका कार्यकर्तामा सम्बन्धविच्छेदका घटना बढेका छन् ।

पूर्वशान्तिमन्त्री सत्या पहाडी भन्छिन्, ‘माओवादी आन्दोलनमा थुप्रै अन्तरजातीय विवाह भएका छन् । तीमध्ये जसको चेतनास्तर माथि उठेको छ, उनीहरूको अहिले पनि टिकेको छ, जसको चेतनास्तर कमजोर थियो, उनीहरूको सम्बन्ध भत्केको छ ।’

अन्तरजातीय विवाह गर्ने शक्ति बस्नेत र सत्या पहाडीको उतारचढावपूर्ण रहँदै अहिले सम्बन्ध सुमधुर छ ।

सशस्त्र सङ्घर्षका बेला माओवादीले प्रेम, विवाह र यौनका बारेमा नीति नै बनाएको थियो । ‘बिहेबारी २० वर्षपारि’ भन्ने सरकारी नीतिलाई माओवादीले त्यतिबेला पालना गर्दै प्रेमविवाहलाई प्रोत्साहित गरेको थियो ।

यौन अपराध र यौन अराजकता निम्तिन सक्ने खतरा महसुस गरी माओवादीले सशस्त्र सङ्घर्षका बेला श्रीमान्–श्रीमतीलाई नजिकको कार्यक्षेत्रमा खटाउने गरेको थियो ।

‘यौन जैविक आवश्यकता हो, त्यसलाई नियन्त्रण होइन, व्यवस्थित र अनुशासित बनाउने प्रयास हामीले गरेका थियौँ,’ सशस्त्र सङ्घर्षका बेलामा पश्चिम नेपालमा खटिएका एक नेता भन्छन् ।

रगतको नाताभन्दा वर्गीय नाता गहिरो र भावनात्मक हुन्छ भन्ने मान्यतामा अगाडि बढेका माओवादी नेता–कार्यकर्ता सशस्त्र सङ्घर्षको समापन र शान्तिपूर्ण जीवनमा आफ्ना पुराना मान्यतामा स्खलित हुँदै गएका छन् ।

‘वर्ग दृष्टिकोण र वर्गीय निष्ठामा आएको गम्भीर विचलनको परिणाम नै पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली र सांस्कृतिक आचरण अत्यन्त अपारदर्शी, अराजक, आत्मकेन्द्रित व्यक्तिवादी, छाडा, उपभोक्तावादी र ढोंगी प्रकारको बन्दै गएको छ,’ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति (२–१८ माघ २०७०) मा पारित गराएको दस्तावेजमा भनिएको छ, ‘यौनजन्य विकृतिलगायत घरपरिवार, व्यक्तिगत सम्पत्तिसम्बन्धी धारणा र मूल्य–मान्यतामा पनि निकै ठूलो अराजकता र नैतिक ह्रास आइरहेको छ ।’

एमाओवादीका सल्लाहकार तथा स्तम्भकार नरेन्द्रजंग पिटरका शब्दमा राजनीति संस्कृतीकरण भइदिएको भए अन्तरजातीय विवाह दिगो हुन सक्थ्यो । ‘विचार फेर्न जति सजिलो हुन्छ, संस्कृति फेर्न फलामको चिउरा चपाएजस्तै कठिन हुँदोरहेछ,’ पिटर भन्छन्, ‘युद्धको तीव्रतामा राजनीतिलाई संस्कृतीकरण गर्न नसकिँदाको परिणाम अहिले समाजले भोगिरहेको छ ।’

‘या त हाम्रो समाज क्रान्तिकारी रूपान्तरण भएर हामी अर्को समाजमा जानुपथ्र्यो । हाम्रो समाज रूपान्तरण भएन । हामी करिब–करिब यथास्थितिमा रह्यौँ,’ कृष्णध्वज भन्छन्, ‘हामीले जाति, वर्ग, क्षेत्र, लिङ्गको मुद्दालाई चर्को रूपमा उठायाँै ।

त्यो मर्मलाई हामीले जनतालाई बुझाउन सकेनौँ । दलितमाथि छुवाछुत हुनेबित्तिकै तत्काल दण्ड र सम्मान गर्ने व्यवस्था भइदिएको भए अन्तरजातीय विवाहमा समस्या आउने थिएन ।’
सञ्चारिका फिचर सेवा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>