थप समाचारमंगलबार, जेठ १३, २०७१
धनगढीमा चार हजार मतदाता थप, विद्युतीय यन्त्रबाट मतदान हुने
थपिएका नयाँ मतदातासहित क्षेत्र नं ६ मा अब मतदाताको सङ्ख्या ६१ हजार ८१७ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विशकसेन ढकालले जानकारी दिए । क्षेत्र नं ६ मा पर्ने धनगढी नगर क्षेत्रमा ४३ हजार ५९६, फूलबारी गाविसमा १० हजार ८६५ र उर्मा गाविसमा सात हजार ३५६ मतदाता पुगेका छन् ।
गत मंसीरमा भएको निर्वाचनमा ५७ हजार ९११ मतदाता रहेकामा ४३ हजार २६५ मत खसेका थिए । तीमध्ये ४१ हजार १९९ मत सदर र दुर्ई हजार ६६ मत बदर भएका थिए ।
उक्त निर्वाचनमा ३० जनाको उम्मेदवारी परेकामा नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार फोरम नेपाल( लोकतान्त्रिक)का उम्मेदवारबाहेक सबैको जमानत जफत भएको थियो ।
अबको उपनिर्वाचनमा विद्युतीय मतदानयन्त्र प्रयोग हुने भएकाले खसेको शतप्रतिशत मत सदर हुने ढकालले बताए ।
उपनिर्वाचनका लागि स्थापित सबै ३० मतदानस्थलमा ७५ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
निर्वाचनमा खटिने कर्मचारीको विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाइसकिएको र निर्वाचनसम्बन्धी अन्य तयारी भइरहेको छ ।
डडेल्धुरा र कैलाली–६ बाट दोस्रो संविधानसभाको चुनावमा विजयी नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली छाडेपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि ११ जेठमा एक स्वतन्त्र र १८ राजनीतिक दलका समेत गरी १९ जनाले उम्मेदवारीको मनोनयन दर्ता गराइसकेका छन् ।
रासस
