समाचारमंगलबार, जेठ १३, २०७१
सार्क सम्मेलनअघि नै नेपाल आउँछुः मोदी
१३ जेठमा नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा भएको भेटवार्तामा भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले आफू सार्क सम्मेलनका बेला नेपाल आउने निश्चित भए पनि कार्यतालिका मिलाएर त्यसअघि पशुपति दर्शनका लागि भए पनि नेपाल आउने बताएका छन् ।
प्रधानमन्त्री कोइरालाले भारतबाट १५ वर्षदेखि उच्चस्तरीय भ्रमण हुन नसकेकोले तत्काल भ्रमण भए त्यसले दुई देश वीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरेका थिए ।
मोदीले नेपालमा लोकतान्त्रिक संविधान निर्माणका बारेमा चासो व्यक्त गर्दै नेपालमा स्थायित्व र विकासका लागि आफू जस्तो सुकै सहयोग गर्न तत्पर रहेको बताएको भेटमा सहभागी भौतिक योजना तथा निर्माणमन्त्री विमलेन्द्र निधिले जानकारी दिएको पत्रकार ऋषि धमलाले जानकारी दिएका छन् ।
जवाफमा प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक संविधान जारी भएपछि आर्थिक विकासका लागि भारतको समेत सहयोगको अपेक्षा राखेको बताएका थिए ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासको लागि जलविद्युतको विकास अपरिहार्य रहेको उल्लेख गर्दै ठूला जलविद्युत आयोजनाको निर्माणमा चासो व्यक्त गरेका छन् ।
भेटमा निधिका अतिरिक्त, कांग्रेस नेताहरु सुजाता कोइराला, सशांक कोइराला र भारतीय राजदुत रञ्जित रे लगायतको उपस्थिति थियो ।
मोदीसँगको भेटपछि कोइरालाले झण्डै आधा घण्टा अफगानिस्तानका राष्ट्रपति हामिद कारजाईसँग भेटवार्ता गरेका थिए । भेटमा कारजाईले नेपालको संविधान निर्माण प्रक्रियामा चासो राख्दै सार्क शिखर सम्मेलनमा सहभागि हुन नेपाल आउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
त्यसपछि कोइरालाले श्रीलंकाका राष्ट्रपति महिन्दा राजापक्षसँग भेटवार्ता गरेका छन् ।
कोइरालाले आजै पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
मुखर्जीसँगको भेटवार्ताको लागि साढे सात बजेको समय तोकिएको छ ।
