थप समाचारमंगलबार, जेठ १३, २०७१
वेटरबाट अभिनेत्री हुँदै मन्त्रीसम्म
सौंदर्य प्रसाधनको विज्ञापनदेखि मिस इंडिया प्रतियोगिताकी सहभागी र भारतीय टेलीविजनका दर्शककी प्रिय ‘बुहारी’ हुँदै मानव संसाधन मन्त्री बनेकी ३८ वर्षीया स्मृति ईरानीको जीवन प्रसिद्धि र सफलताको कथा बनेको छ ।
दिल्लीबाट १२ कक्षा पास गरेर एक वर्ष कलेज पढेकी स्मृति इरानी मोडलिंग क्षेत्रमा काम गर्न मुम्बइ पुगेकी थिइन् । आफ्ना बाबुबाट दुई लाख रुपैयाँ सापटी लिएर ‘मिस इण्डिया’ प्रतियोगितामा भाग लिएकी उनी टप फाइभसम्म पुगेपछि केही विज्ञापनहरुमा मोडलिङ समेत गरिन् ।
तर सानोतिनो मोडलिङले मात्रै मुम्बई बसाइको खर्च धान्न नसकेपछि उनले म्यकडोनाल्डमा वेटरको काम गरिन् । यसैबीच उनले एकता कपुरको सिरियल ‘क्योंकी सास भी कभी बहू थी’ मा मुख्य भूमिकामा काम पाइन् ।
त्यस सिरियलले उनलाई प्रसिद्धिको नयाँ उचाइँमा पुर्यायो । समयसँगै उनले अभिनय बाहेक लेखनमा पाइला राखिन र टेलिभिजन सिरियलमा निर्माताको भूमिका निर्वाह गरिन् ।
सन् २००३ मा भारतीय जनता पार्टीमा संलग्न भएकी उनले २००४ मा दिल्लीको चाँदनी चोक सिटबाट टिकट पाए पनि कांग्रेसका कपिल सिब्बलसँग हार ब्यहोरेकी थिइन् ।
त्यसपछि उनलाई भारतीय जनता पार्टीको महिला मोर्चाको राष्ट्रिय अध्यक्षको पद प्राप्त भयो । भर्खरै सम्पन्न आम निर्वाचनमा कांग्रेसका राहुल गान्धीसँग अमेठी क्षेत्रबाट चुनाव हारेकी इरानी राज्य सभामा भाजपाका तर्फबाट सांसद छिन् ।
दिल्लीमै हुर्के बढेकी स्मृती टेलिभिजनबाट चर्चित भएपछि नै उनको क्षमताको कदर गर्दै भाजपाले उनलाई पार्टीमा मुख्य जिम्मेवारी दिएको हो ।
अभिनय क्षेत्रका अरु धेरै पार्टीमा भए पनि स्मृतिको कार्यकुशलता, जिम्मेवारी बहन गर्ने क्षमता र संगठन निर्माणमा उनको भूमिकाका कारण उनले मन्त्री पद पाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
आफ्ना बाल्यकालका साथी जुबिन ईरानीसँग विवाह गरेकी स्मृतिका दुई छोरा छन् ।
स्मृतिले भर्खरै भारतीय टेलिभिजनलाई दिएको अन्तर्वातामा मध्यमवर्गीय परिवारकी आफूले घर र काम भन्दा ठूलो सपना नदेखेको बताएकी छन् ।
सन् २००४ मा गुजरातमा भएको साम्प्रदायिक दंगापछि मोदीको कटु आलोचना गरेकी उनले भनेकी छन्, ‘मन्त्री भएर देशको सेवा गर्नेछु भन्ने सोचेकी थिइन्, यस्तो मौका दिएकोमा नरेन्द्र मोदीलाई धन्यवाद ।’
एजेन्सीहरु
