समाचारबुधबार, जेठ १४, २०७१
राज्यसत्ताविरुद्ध आन्दोलन हुन्छः जेपी गुप्ता
मधेश केन्द्रीत राजनीतिक दलहरुलाई सत्ताप्रति समर्पित भई मधेशका मुद्दा विर्सजन गराएको आरोप लगाउँदै पूर्व मन्त्रीसमेत रहेका जयप्रकास प्रसाद गुप्ताले आफ्नो अभियानले राज्यसत्ता बिरुद्ध र संविधानसभा भित्र रहेका मधेशकेन्द्रित दलहरुका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
१४ जेठमा राजविराजमा आयोजित कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक गुप्ताले भने, “मधेशीका नाममा संबिधानसभाभित्र रहेका दलहरु गद्दार हुन् ।”
“पहिलेदेखि नै मधेशवादी दलहरु आत्मसर्मणवादी थिए, संविधानसभाभित्र पनि उनीहरुले आत्मसमर्पण गर्नेछन्,” गुप्ताले आरोप लगाए ।
उनले मधेशका नेताहरुको नामै लिएर उपेन्द्र यादव, विजय गच्छदार, महन्थ ठाकुर, अनिल झा, महेन्द्र राय यादव, राजकिशोर यादवसहितकाले मधेशको नाममा राजनीति गरेपनि सधैं मधेशविरोधी कार्य गरेको आरोप लगाए ।
यद्दपी आफ्नो संगठन कुनै पनि चुनावमा सहभागी नहुने र सत्तामा नजाने उनको दाबी थियो ।
फोरम मधेशका अधिकांस पदाधिकारी समाहित
कार्यक्रममा भाग्यनाथ गुप्ता नेतृत्वको मधेशी जनअधिकार फोरम मधेशका उपाध्यक्ष, महासचिवसहित अधिकांस पदाधिकारी र कार्यकर्ता गुप्ता नेतृत्वको तराई मधेश राष्ट्रिय अभियानमा प्रवेश गरेका छन् ।
उपाध्यक्ष विवेकानन्द सिंह, महासचिव सुरेन्द्र साह, केन्द्रिय सदस्यहरु डम्बरनारायण लाल कर्ण, प्रकाश चौधरी, बिमलादेवी यादव, मधेरी यादव, रामशंकर यादव, विद्यार्थी संगठनका कार्यबाहक अध्यक्ष राकेश रोशन यादवसहितका सय जनाभन्दा बढी तमरामा प्रवेश गरेको महासचिव साहले बताए ।
सोही अवसरमा सद्भावना युनाइटेडका केन्द्रिय सदस्य बसन्त चौधरी पनि तमरामा प्रवेश गरे ।
श्रवणकुमार देव, राजविराज
