समाचारबिहीबार, जेठ १५, २०७१
सहमतिमै अध्यक्ष बन्ने सम्भावना छः नेता नेपाल
नेकपा एमालेको आसन्न महाधिवेशनको सन्दर्भमा काठमाडौंमा आयोजित मोर्चा सङ्गठन भेलामा वरिष्ठ नेता माधव नेपालले देशव्यापीरुपमा आफूप्रति युवा नेता तथा कार्यकर्ताको लहर देखापरेको भन्दै आफू सहमतिमै अध्यक्ष बन्ने दावी गरेका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले भने, “पार्टी र मुलुक हाँक्न सक्षम युवा नेतृत्व चाहिन्छ, मेरो समर्थनमा सक्षम र वैचारिक हिसाबले योग्य युवा जमात छ, पार्टी अध्यक्षका लागि सहमति पनि हुन सक्छ ।”
नेता नेपालले मुलुकमा सामाजिक र आर्थिक क्रान्ति गर्न जरुरी भएको बताउँदै त्यसका लागि स्पष्ट कार्यदिशा दिनसक्ने नयाँ नेतृत्व महाधिवेशनबाट आउनुपर्नेमा उनले जोड दिए ।
सो भेलामा पूर्व मन्त्री भीम रावल, राजेन्द्र राई, ठाकुर गैरेलगायत नेताहरूले अनुभवी नेता नेपाललाई पार्टीको आगामी महाधिवेशनबाट अध्यक्ष बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
रासस
