थप समाचारशुक्रबार, जेठ १६, २०७१

स्काउटमा आन्दोलन– लिडर १७ दिनदेखि अनशनमा

हिमालखबर

चार कार्यकालदेखि नेपाल स्काउटमा प्रमुख आयुक्त रहेका श्रीराम लामिछानेको राजीनामा तथा युवा नेतृत्वमा स्काउट तदर्थ समिति गठनको माग, स्काउट ऐनको पुनर्लेखनको माग गर्दै स्काउटकै पदाधिकारीहरुले आन्दोलन गरेका छन् । लामिछानेले स्काउटलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरी धराशायी बनाएको स्काउट पदाधिकारीको आरोप छ।

३० वैशाखदेखि स्काउट केन्द्रीय कार्यालय लैनचौरमा आमरण अनसनमा रहेका स्काउट लिडर गुणराज प्याकुरेलले आफ्नो आन्दोलन भ्रष्टाचारका विरुद्ध समेत रहेको बताए । अहिले उनको स्वास्थ्य अवस्था नाजुक भएको छ। स्वास्थ्य अवस्था नाजुक भएपछि दुई पटक अस्पताल लगिएका प्याकुरेललाई अहिले नोवेल अस्पतालका चिकित्सकहरुले स्वास्थ्य जाँच गरिरहेका छन् ।

आफ्ना माग पुरा नभएसम्म अनसन फिर्ता नलिने प्याकुरेलले बताए । उनले भने, “यो संस्था (नेपाल स्काउट) को विकास र सुदृढीकरणका लागि म मर्न तयार छु ।”

प्याकुरेलसँगै आमरण अनसनमा बसेकी अर्की स्काउट लिडर रमिला नगकोटीले भने १५ जेठमा अनसन तोडेकी छिन्। स्काउटका सहप्रमुख आयुक्त पुष्पलता भट्टराई र सामुदायिक विकास आयुक्त मणि मल्लले राजीनामा दिई आन्दोलनप्रति ऐक्यबद्धता जनाएका कारण नगरकोटीले अनशन तोडेकी हुन्।

नेपाल स्काउट प्रगतिशील संघर्ष समितिसँग वार्ता गर्न बनेको टोलीका सदस्यसमेत रहेका मल्लले प्रमुख आयुक्तले सम्झौता कार्यान्वयन गर्ने वातावरण नबनाएपछि राजीनामा दिएको बताए।

आन्दोलन शुरु भएपछि समस्या समाधानका लागि आठबुँदे सम्झौता भएको थियो। सम्झौतासँगै वार्ताटोली गठन भएको थियो। तर लामिछानेले सम्झौताविपरित गर्न थालेपछि आन्दोलन लम्बिएको आन्दोलनकारीको भनाइ छ।

केहि दिन अघि खेलकुदमन्त्री पुरुषोत्तम पौडेल लैनचौर गएर अनशनकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिई माग पूरा गर्ने आश्वासन दिएका थिए । तर, उनले अझैसम्म माग पुरा गर्न कुनै पहल नगरेको भन्दै प्याकुरेलले आपत्ति जनाएका छन्।

प्रधानमन्त्री संरक्षक र युवा तथा खेलकुदमन्त्री प्रमुख रहने स्काउटमा कर्मचारीले गरेको अनशनप्रति सम्बन्धित निकायले खासै चासो देखाएका छैनन्।

युवा तथा खेलकुद मन्त्रालयका सचिव प्रतापकुमार पाठकले वैधानिक रूपमा प्रमुख आयुक्तलाई हटाउने अधिकार मन्त्रालयसँग नभएकाले आन्दोलन लम्बिएको बताए।

“आन्दोलनरत पक्षले राजीनामालाई प्रमुख माग बनाएको छ। हटाउने अधिकार मन्त्रालयसँग छैन। मन्त्रीज्यू प्रधानमन्त्रीसँग सल्लाह गर्दै हुनुहुन्छ,” पाठकले भने।

नेपाल स्काउटको लैनचौरमा २६ रोपनी जग्गा, ककनीमा ८०० रोपनी जग्गा छ भने सरकारी बजेट र देशविदेश भ्रमणका अवसरहरु पनि प्राप्त हुन्छ । स्काउट शिक्षालाई फराकिलो बनाउनेभन्दा स्काउटको सम्पत्तिमै सबैको ध्यान केन्द्रित हुने गरेको छ।

संघर्ष समितिका सदस्य राजीव खत्रीले यही आकर्षणका कारण लामिछानेले पदबाट राजीनामा दिन नमानेको दाबी गरे।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>