समाचारशुक्रबार, जेठ १६, २०७१
आयोगले रमेश खरेलको सरुवा रोक्यो
गृहमन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेकोमा आचारसंहिता विपरित हुने भन्दै सरुवाका लागि सहमति नदिइएको आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिएका छन् ।
८ असारमा काठमाडौंको क्षेत्र नं. २ मा संविधानसभा सदस्यको उपनिर्वाचन हुन लागेकाले प्रहरी अधिकारीको सरुवा निर्वाचन आचारसंहिता विपरित भन्दै सरुवाको सहमति नदिइएको राईले हिमालखबरलाई बताए ।
खरेलले पछिल्लो समय डिआइजीहरु बढुवाका लागि पैसाको ब्रिफकेश बोकेर नेताहरुकहाँ धाउने गरेको अभिव्यक्ति दिएपछि गृहमन्त्रालयले उनलाई हेडक्वार्टरमा सरुवा गर्ने तयारी गरेको थियो ।
यसअघि पनि गृहमन्त्री वामदेव गौतमले खरेलप्रति असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
