समाचारशनिबार, जेठ १७, २०७१
मण्डपमा पुग्नै लाग्दा बेहुलाका बाबुको मृत्यु, विवाह रद्द
पञ्चन–५ सोलुखुम्बुबाट १६ जेठ साँझ छोरा डोलराज कार्कीको विवाहको जन्ती लिएर पावै– ७ का भक्तबहादुर बस्नेतको घरमा जाँदै गर्दा बेहुलाका बाबु अक्कलबहादुर कार्की मुर्छा परी ढलेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ्मा लगिएकोमा राति ८ बजे मृत घोषित गरिएको इलाका प्रहरी कार्यालय सोताङले जानकारी दिएको छ ।
उनको हृदयघातका कारण मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
बेहुलाका बाबुको मृत्यु भएपछि विवाह कार्यक्रम नै रद्द गरिएको छ । पञ्चन– ५ सोलुखुम्बुका डोलराज कार्की र पावै–७ की देवीकुमारी बस्नेतबीच विवाह हुन लागेको थियो । बेहुलाका बाबुको मृत्यु भएपछि जन्ती गएकाहरु मलामीमा परिणत भएर अन्तिम संस्कारका लागि गएका सोलुखुम्बु विकास समाज सोताङ्का कर्मचरी सुशील बस्नेतले जानकारी दिए ।
रासस
