समाचारआइतबार, जेठ १८, २०७१
चालु आवको अन्त्यसम्म ६० मेगावाट विद्युत् थप हुने
हाल निर्माण सम्पन्न हुने र परीक्षण उत्पादनसमेत शुरु गरिरहेका एक देखि २२ मेगावाट क्षमताका जलविद्युत योजनाबाट आगामी असार मसान्तसम्म थप ६० मेगावाट विद्युत उत्पादन हुने भएको छ ।
निजी क्षेत्रबाट निर्माण गरिएका ती आयोजनामा छोटे खोला, भैरवकुण्ड, राधी खोला, जिरी खोला, माथिल्लो पुवा, माथिल्लो माई, माई खोला र आँधी खोला छन् । एक मेगावाटको छोटे, चार मेगावाटको राधी र ५.४ मेगावाटको भैरवकुण्डको भने परीक्षण उत्पादन शुरु भइसकेको छ । ती आयोजनाले केही दिनभित्रै व्यापारिक उत्पादन शुरु गर्ने जानकारी नेपाल विद्युत् प्राधिकरणलाई दिइसकेका छन् ।
प्राधिकरणका व्यापार शाखाका प्रमुख हितेन्द्रदेव शाक्यका अनुसार पाँच मेगावाट क्षमताको माथिल्लो हुग्दी, १० मेगावाट क्षमताको माथिल्लो माई र २२ मेगावाट क्षमताको माई खोला चालु आवको अन्त्यसम्म व्यापारिक उत्पादन शुरु हुनेछ । यस्तै ५१८ किलोवाट क्षमताको बल्खु खोला जलविद्युत् आयोजनासमेत सम्पन्न हुनेछ ।
यस्तै क्षमता वृद्धिका लागि केही समयदेखि बन्द अवस्थामा रहेको आँधीखोला जलविद्युत् आयोजना पनि असार मसान्तसम्म पूरा हुनेछ । क्षमता वृद्धि भएपछि सो आयोजनाबाट ९.४ मेगावाट बिजुली मुलुकले पाउनेछ ।
ती सबै आयोजना सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत् प्रणालीमा करिब ६० मेगावाट विद्युत् थप हुनेछ । तर ती सबै आयोजना नदी प्रवाहमा आधारित भएका कारण वर्षाको समयमा पूर्ण क्षमतामा सञ्चालनमा आउने भए पनि हिउँदमा भने आधाभन्दा कम क्षमतामा मात्र विद्युत् उत्पादन हुनेछ ।
हाल मुलुकभर करिब एक हजार १०० मेगावाट विद्युत् माग भए पनि वर्षामा ७५० मेगावाटमात्रै उत्पादन हुँदै आएको छ । मागअनुसार आपूर्ति नहुँदा मुलुक चरम ऊर्जा सङ्कट बेहोर्न बाध्य छ ।
रासस
