समाचारआइतबार, जेठ १८, २०७१
संसद बैठक अवरुद्ध, प्रधानमन्त्री लाचार भए: थापा
आर्थिक वर्ष २०७१/०७२ को विनियोजन विधेयकमाथी छलफल हुने कार्यसूची रहेपनि सरकारले रकमान्तर गरेर करोडौं रुपैयाँ दुरुपयोग गरेको भन्दै प्रतिपक्षी दलहरुले विरोध गरेपछि बैठक सुचारु सकेन ।
बैठकको शुरुमै एमाओवादीका सभासद् जनार्दन शर्माले सरकारले नेता कार्यकर्तालाई पैसा बाँडेको आरोप भन्दै हुँदै नभएका योजनामा पनि मन्त्रीको तोक आदेशको भरमा बजेट दुरुपयोग भएको बताऐ ।
सभासद् शर्माले मन्त्रीहरुले कार्यकर्ता पोस्न बजेट भागवण्डा गरेर बिना योजना सरकारी ढुकुटीको दुरुपयोग गरेको आरोप लगाए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले राजनीतिक भागवण्डाको नाममा सरकारी रकमको दुरुपयोग भएको आरोप लगाए ।
“आर्थिक वर्ष सकिन ४० दिनभन्दा कम हुँदा रकमान्तरणको आवरणमा सिंचाइ मन्त्रालयबाट ९५ करोड, शहरी विकास मन्त्रालयबाट ५० करोड, भौतिक योजना तथा यातायात मन्त्रालयबाट २ सय करोड, स्थानीय विकास मन्त्रालयबाट विभिन्न कार्यक्रमको नाममा ५१ करोड ५० लाख र अर्थ मन्त्रालयबाट ३८ करोड रुपैयाँ रकमान्तर भएको छ।”
प्रधानमन्त्रीले पहिलो दिन ५ हजार रुपैयाँको खर्च पनि वेबसाइटमा राख्ने र मन्त्रिपरिषदमा पाउरोटी खाने भनेको तर, उनैको नाक मुनी रकमान्तरण भइरहेको भन्दै थापाले आपत्ति जनाए ।
उनले भने, “प्रधानमन्त्रीलाई यो जानकारी छ कि छैन ? छ भने किन रोकिएन र छैन भने यो लाचारीपन हो।”
नेता थापाले सरकारले योजना आयोगको तथ्यांकमा नभएका १ सय ५० भन्दा बढी आयोजनाका लागि मन्त्रीको तोक आदेशको भरमा भएको रकमान्तर गरेकाले त्यसकोे छानविन हुनेपर्ने माग गरे ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पटक पटक विभिन्न समूहस“ग भएका सहमतिहरु पूरा गर्न सरकार उदासिन रहेको आरोप लगाए । यादवले संसदीय परम्परा र मान्यता अनुसार चल्न सरकारको ध्यानाकर्षण गराए ।
बैठकमा प्रतिपक्षी दलका सभासद्हरु उठेर विरोध गरेपछि अर्थमन्त्री रामशरण महतले जवाफ दिन पाएनन् ।
व्यवस्थापिका संसद्को अर्को बैठक २० जेठ, मंगलबार ३ बजेका लगि बोलाइएको छ ।
