समाचारसोमबार, जेठ १९, २०७१
एमाले महाधिवेशनको काउन्ट डाउन शुरु
एमालेले राजधानीस्थित भृकुटीमण्डपमा हुने नवौं महाधिवेशनको काउन्ट डाउन १९ जेठदेखि शुरु गरेको हो । एमालेले पार्टी कार्यालय बल्खुमा महाविधेशन काउन्ट डाउन डिस्प्ले बोर्ड जडान गरिएको छ ।
एमालेले आजदेखि महाधिवेशन मूल व्यवस्थापन समितिको कार्यालय पनि विधिवत रुपमा शुरुवात गरेको छ । पार्टी कार्यालय बल्खुमा १९ जेठमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनालले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा ६५ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको जानकारी दिए ।
उनका अनुसार महाधिवेशनमा केन्द्रीय नेता सहित १ हजार ९ सय प्रतिनिधि सहभागी हुने छन् । प्राविधिक काम बाँकी रहेको पाँच जिल्ला बाहेक २ लाख ५० हजार सदस्यले सदस्यता नविकरण गरिसकेको उनले जानकारी दिए ।
एमालेले नवौं महाधिवेशनको प्रचारप्रसारलाई डिजिटल प्रविधिमा मात्र सीमित गर्ने, महाधिवेशनको लाइभ वेवकाष्ट गर्ने, महाधिवेनशनका सबै प्रतिनिधिलाई कार्यकर्ताकै घरमा राख्ने, महाधिवेशनस्थलमा सीसीटीभी जडान गर्ने जनाएको छ ।
महाधिवेशनका लागि रु.५ करोड खर्च हुने अनुमान गरिएको छ । महाविधेशनमा इलेक्ट्रोनिक भोटिङ मेशिनको प्रयोग गरिने पनि एमालेले जनाएको छ । रामलक्ष्मण दाजुभाइले निर्माण गर्ने मेशिनबाट मतदान हुनेछ ।
पार्टी एकतावद्ध हुन्छः खनाल
एमाले अध्यक्ष झलनाथ खनालले महाधिवेशन थलोसम्म पुग्दा एमालेको विवाद अन्त्य हुने दावी गरेका छन् । पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले भने, “महाधिवेशनको थलोसम्म पुग्दा पार्टी एकतावद्ध ढंगले अगाडि बढ्ने छ ।”
एमालेले महाधिवेशनको नारा “शान्तिपूर्ण जनक्रान्तिको उपलव्धीलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं” तय गरेको छ ।
एमालेले साङ्गठानिक प्रतिवेदन र विधानको संशोधन प्रस्तावमाथि १९ जेठदेखि नै छलफल शुरु गरेको जनाएको छ ।
