समाचारसोमबार, जेठ १९, २०७१
कर्मचारीकै मिलेमतोमा वन फडानी, २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वन फडानी, ओसारपसार र बिक्री वितरणमा संलग्न भई भ्रष्टाचार गरेको अभियोगमा अख्यितारले ७ जना कर्मचारी, २२ जना वन उपभोक्ता समूहका अध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध १९ जेठमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
उनीहरुले रु.१ करोड ३ लाख ९४ हजार ६४९ रकम बराबरको भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनीहरुले वन नियमावली २०५१ विपरित साल, सिसौ, खयर र अन्य जातको रुखको छपान, कटान, मुद्दान, ओसारपसार र बिक्री वितरण गरेको सापकोटाले बताए ।
बाँकेको प्रगतिशील सामुदायिक वन उपभोक्ता समूह, जराटाकुरी महिला सामुदायिक वन उपभोक्ता समूह, लालमाटी महिला सामुदायिक वन उपभोक्ता समूह, मनकामना महिला सामुदायिक वन उपभोक्ता समूह, पाथिभरा सामुदायिक वन उपभोक्ता समूह, रामेश्वर सामुदायिक वन उपभोक्ता समूह, सतीभवानी सामुदायिक वन उपभोक्ता समूह, सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समूह, सुन्धारा धारापानी सामुदायिक वन उपभोक्ता समूह, सुनसरी सामुदायिक वन उपभोक्ता समूह र तिलकन्या हरियाली महिला सामुदायिक वन उपभोक्ता समूहले ऐन विपरित रुख कटानी गरेको अख्तियारको ठहर छ ।
रुख कटानी गरी भ्रष्टाचार गरेको आरोपमा ती वन उपभोक्ता समूहका अध्यक्षहरु मीना खड्का, कल्पना खड्का, डिलादेवी वली, सुनिता चौधरी, मिनकुमार खड्का, एकराज भण्डारी, चेतबहादुर पुन, खिमबहादुर खड्का, प्यारी गिरी, कृष्ण बिक र उपाध्यक्ष सृजनाकुमारी कुमालविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
यस्तै, बन फडानीमा संलग्न समूहका सचिवहरु युवराज खड्का, खुमा बिक, चुर्णकुमारी खत्री, शान्ता बस्नेत, भैरव खड्का, लिला कुमाल, डिला महतारा, यमा रिजाल, गंगाधर खत्री, सुरेश महरा र तारा भण्डारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भ्रष्टाचार मुद्दा दायर भएका कर्मचारीमा जिल्ला वन कार्यालय, बाँके नेपालगन्जका तत्कालीन जिल्ला वन अधिकृत श्यामप्रसाद शर्मा र उपसचिव (प्राविधिक) विश्वनाथप्रसाद महतो, सहायक वन अधिकृतहरु महन्थप्रसाद पण्डित, भिमप्रसाद पौडेल, अमरप्रसाद साह, अवकाश प्राप्त सहायक वन अधिकृतहरु बालकृष्णप्रसाद पटेल र कृष्णवल्लभ लाल कर्ण छन् ।
