थप समाचारमंगलबार, जेठ २०, २०७१
भारतका केन्द्रीय मन्त्री मुण्डेको दुर्घटनामा निधन
भारतको राजधानी नयाँ दिल्लीमा भएको सड़क दुर्घटनामा केन्द्रीय ग्रामिण विकास मन्त्री गोपिनाथ मुण्डेको निधन भएको छ । दुर्घटनापछि अस्पताल लैजाँदै गर्दा हृदयघातका कारण मन्त्री मुण्डेको मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मुम्बई जानका लागि विहानै घरबाट एयरपोर्ट तर्फ लागेका मुण्डे चढेको कारलाई स्थानीय पृथ्वीराज रोडमा अर्को कारले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका मुण्डेलाई उनका सहयोगीले तुरुन्तै ‘एम्स ट्रोमा सेन्टर’ मा लगेका थिए । उनलाई बाटोमै हृदयघात भएको थियो ।
२० जेठ विहान ७: २० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमंत्री नरेंद्र मोदी लगायतका नेताहरुले मुण्डेको निधनप्रति शोक व्यक्त गरेका छन् ।
शरीरमा बाहिरी चोट नदेखिएका मुण्डेलाई बचाउन चिकित्सकहरुले अथक प्रयास गरे पनि बचाउन नसकिएको भाजपा नेता एवम् मन्त्री नितिन गडकरीले बताएका छन् ।
एम्सद्वारा जारी विज्ञप्तिमा मुण्डेलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको बताइएको छ । उनको मुटुको धडकन र श्वासप्रश्वास समेत बन्द भइसकेको अवस्थामा कृत्रिम तरिकाले श्वास दिइ ठिक पार्न खोज्दा पनि असफल भएको विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीले मुण्डेको गाडीलाई ठक्कर दिने कारका चालकलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।
