समाचारमंगलबार, जेठ २०, २०७१
उपचारपछि फर्केका ओली भन्छन, ‘सहमतिमै नेतृत्व’
ओलीलाई मेनिन्जाइटिस भएपछि गत १७ वैशाखमा बैंककको थाइल्याण्डस्थित बुमरुङ गार्ड अस्पतालमा एयर एम्बुलेन्समार्फत लगिएको थियो ।
उनलाई एकहप्ताअघि नै अस्पतालले डिस्चार्ज गरेको भए पनि चिकित्सकको सल्लाह अनुसार थप केही दिन ओली उतै बसेका थिए ।
भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा करिब ३ महिना उपचार गराएर वैशाख ३ गते ओली स्वदेश फर्किएका थिए। बीचमा नेताहरुलाई भेट्ने क्रममा उनी पुनः बिरामी परेपछि बैंकक लगिएको थियो।
त्यसभन्दा अगाडि काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा एक हप्ता भर्ना भएर थप उपचारका लागि ओली फागुन १८ गते नयाँ दिल्ली गएका थिए।
२९ जेठमा स्वदेश फर्किएका नेता ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग भने, “पूर्ण स्वास्थ्य लाभ गरेर फर्किएको छु, केही कमजोरी भए पनि विस्तारै ठिक हुने डाक्टरले भनेका छन् ।”
उपचारका क्रममा नेपाली जनताले माया गरेको भन्दै जनताको मायालाई ऋणको रुपमा लिएको र असल काम गरेर चुक्ता गर्ने बताए ।
उनले राष्ट्रपति, प्रधानमन्त्री, पार्टी नेता कार्यकर्तालाई पनि धन्यवाद दिए । उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोरेको हो ।
एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका ओलीले नवौं महाधिवेशनले सहमतिमै नेतृत्व चयन गर्ने बताए । महाधिवेशअघि केही विवाद भएपनि महाधिवेशनसम्म पुग्दा सबै सहमतिमा पुग्ने उनको दाबी छ ।
२०६४ साउनमा मृगौला प्रत्यारोपण गराएका ओली बेलाबेला विरामी परिरहन्छन् । थाइल्याण्ड जानुअघि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओली त्यसको केही दिनअघि मात्रै भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा करिब ३ महिना उपचार गराएर फर्केका थिए ।
त्यसअघि उनी काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा एक हप्ता भर्ना भएका थिए ।
