समाचारमंगलबार, जेठ २०, २०७१

विपक्षीद्वारा फेरि पनि संसद अबरुद्ध

हिमालखबर

व्यवस्थापिका संसदको बजेट अधिवेशनको बैठक शुरुदेखि नै अवरुद्ध पार्दै आएका प्रमुख विपक्षी दलहरुले २० जेठको बैठक पनि अवरुद्ध गरेका छन् । यसअघि बैठक सञ्चालनका लागि सहमति खोज्न तीन दलबीच बसेको बैठक विना निष्कर्ष टुंगिएको थियो ।

संसद सुरु हुनासाथ सदभावना पार्टीका सभासद लक्ष्मण कर्णले सरकारले गैरबजेटरी रकम मनोमानीपूर्ण निकासी गरिरहेको भन्दै सरकारको आलोचना गरे । उनले विपक्षीहरुको मागप्रति सरकार र सत्ता साझेदार दलहरुले बेवास्ता गरेको आरोप लगाए ।

यसअघि भएको ४ बुँदे सहमति कार्यान्वयन लगायतका माग राखेर एमाओवादी लगायतका विपक्षीले स‌दन अवरुद्ध गर्दै आएका छन्।

एमाओवादीले उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्ने, चुनावमा भएको भनिएको धाँधलीको संसदीय छानबिन गर्न समिति गठन गर्नुपर्नेलगायतका मागसहित रकमान्तर रोकिनुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको छ भने अन्य विपक्षीले पनि रकमान्तर रोकिनुपर्ने भन्दै माओवादीलाई साथ दिदै आएका छन् ।

बजेट अधिवेशनको रुपमा रहेको संसद बैठक शुरुदेखि नै अवरुद्ध पारिँदा बजेट सम्बन्धमा छलफल हुन पाएको छैन।
संविधानसभा भवनमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई सहभागी थिए। त्यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुशील कोइराला र पुष्पकमल दाहालबीच पनि छलफल भएको थियो।

तीन दलबीचको छलफलमा उच्चस्तरीय राजनीतिक समिति गठनमा कांग्रेस सकारात्मक भएपनि एमालेले थप एक दिनको समय मागेको र रकमान्तरबारे जवाफ दिन सरकारले आनाकानी गरेकाले सहमति हुन नसकेको एमाओवादीका प्रमुख सचेतक गिरीराजमणी पोखरेलले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>