समाचारबुधबार, जेठ २१, २०७१

एसएसपी खरेल एक महिने बिदामा

हिमालखबर

निर्वाचन आयोगले काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई जिम्मेवारीबाट नहटाउन गृह मन्त्रालयलाई निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई एक महिना विदामा राखेको छ।

छानबिनका लागि प्रहरी प्रधान कार्यालयमा तानिएका खरेलले २० जेठमा प्रहरी प्रधान कार्यालयमा एक महिने बिदाको निवेदन दिएका छन्।

एआइजी बढुवामा पर्न डिआइजीहरु ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाएको सार्वजनिक अभिव्यक्तिपछि विवादमा मुछिएका खरेलको सरुवा गर्न गृहमन्त्रालयले प्रयास गरे पनि आयोगले सहमति दिएको थिएन।

आफ्नो असहमतिपछि खरेललाई हेडक्वाटरमा तानेर राखिएको सूचनाको आधारमा आयोगले १९ जेठमा एसएसपी खरेलललाई काठमाडौं प्रमुखको जिम्मेवारीबाट नहटाउन गृहसचिवलाई लिखित निर्देशन दिएको थियो।

काठमाडौं क्षेत्र नम्बर २ को उपनिर्वाचनको मिति घोषणा भएपछि लागू भएको निर्वाचन आचार संहिताअनुसार आयोगको अनुमति बिना निर्वाचन हुने जिल्लाको प्रहरी प्रमुख परिवर्तन पाइँदैन।

गृहमन्त्री बामदेव गौतम खरेललाई कुनै पनि अवस्थामा काठमाडौंमा नराख्ने पक्षमा उभिएपछि प्रहरी नेतृत्वले उनलाई विदामा बस्न आग्रह गरेको स्रोतले बताएको नागरिक दैनिकले उल्लेख गरेको छ ।

नेतृत्वको आग्रहअनुसार खरेलले २० जेठमा नै विदाको निवेदन दिएका हुन्।

यसअघि काठमाडौं प्रहरी प्रमुख हुँदा समेत खरेल यसरी नै एक महिना विदामा बसेका थिए। एसएसपी बढुवाप्रति असन्तुष्टि जनाउँदै विदामा बसेका उनलाई विदा सकिएपछि प्रहरी तालिम केन्द्रमा सरुवा गरिएको थियो।

कारवाहीको सिफारिस
डिआइजी बढुवा सम्बन्धी खरेलले विवादास्पद अभिव्यक्ति दिएपछि प्रहरी प्रधान कार्यालयले डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठन गरेको छानविन समितिले प्रमाणविनै प्रहरी संगठनको अनुशासनविपरीत सार्वजनिक रुपमा वक्तव्य दिएको भन्दै उनलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रतिवेदन बुझाउँदै खरेलको गल्ती देखाइएको हो ।

प्रतिवेदनमा कडा कारवाहीको सिफारिस नगरिए पनि उनले संगठनको अनुशासन उल्लंघन गरेको र विना प्रमाण बोलेको उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>