समाचारबुधबार, जेठ २१, २०७१
प्रधानमन्त्री कोइराला चीन जाँदै
मन्त्रिपरिषद्को २१ जेठमा बसेको बैठकले प्रधानमन्त्री कोइरालाको चीन भ्रमणबारेमा गरेको निर्णयबारे जानकारी दिंदै सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले भने, “प्रधानमन्त्री कोइरालाको चीन भ्रमण दलमा विभिन्न दलका सांसदहरु पनि रहनु हुनेछ ।”
त्यसैगरी बैठकले सरकारले निजामती सेवा ऐन, २०४९ को संशोधन गर्न बनेको विधेयक स्वीकृत गरी ऐनका रुपमा पारित गर्न व्यवस्थापिका–संसद्मा दर्ता गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री कोइरालाको निमन्त्रणामा नेपाल आउन लागेकी म्यानमारका विपक्षी दलकी नेतृ आङ्साङ सुकीलाई राज्यको अतिथिका रुपमा सम्मान दिने निर्णय गरेको पनि रिजालले जानकारी दिए ।
त्यस्तै सरकारले गतवर्षको भदौ २ गते महाकाली नदीमा आएको बाढीबाट दार्चुलाको सदरमुकाममा घरजग्गाको पूर्ण क्षति भई विस्थापित भएका परिवारलाई राहत तथा पुनःस्थापनाका लागि केही रकम आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल टेलिभिजनको सञ्चालक समितिका अध्यक्ष सीताराम अग्रवालले दिएको राजीनामा स्वीकृत गर्नुका साथै तत्कालीन राजारानीको नाममा रहेको नुवाकोटको १७२ रोपनी र धादिङको १५०१ रोपनी जग्गा नेपाल ट्रष्टको कार्यालयका नाममा दर्ता गर्न स्वीकृती दिएको छ ।
यसैगरी सरकारले डेनमार्क, चीन र एसियाली विकास बैंकले नेपाललाई गर्ने आर्थिक सहयोगमा हस्ताक्षर गर्नका लागि सम्बन्धित निकायलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता रिजालले बताए ।
