थप समाचारबुधबार, जेठ २१, २०७१
प्रहरी क्याम्प राख्ने विषयमा स्थानीयबासिन्दा र सरकारी पक्षबीच विवाद
सशस्त्र प्रहरीको बेस क्याम्प राख्ने जग्गाको विषयमा समिति र स्थानीयबासिन्दाबीच विवाद हुँदै आएको हो । सदरमुकाम तानसेनको सुरक्षाको लागि ९ महीनादेखि तानसेनमा खटिएको सशस्त्र प्रहरीको कार्यालय स्थापना गर्ने समितिको निर्णयको तानसेन–११ काजीपौवाका बासिन्दाले बिरोध गरेका हुन् ।
कार्यालय स्थापना हुने स्थानको छनौट हुन नसक्दा जिल्ला विकास समिति पाल्पाको भवनमा भाडा तिरेर सशस्त्र प्रहरी बसिरहेको छ । समितिले काजीपौवास्थित कुशुमडाँडामा सशस्त्र प्रहरीको कार्यालय राख्ने निर्णय गरेपछि स्थानीयबासिन्दाले चर्को बिरोध गर्दै आएका छन् ।

तानसेनमा आयोजित सर्वपक्षीय भेलास्थल नगरपालिका हल बाहिर बिरोधमा उत्रिएका स्थानीयबासिन्दाल । तस्वीरः देब पचभैया
स्थानीयबासिन्दाले लामो समयदेखि आफूहरुले संरक्षण गर्दै आएको, सामाजिक–धार्मिक कार्य गर्दै आएको र विभिन्न भेलाहरु गर्ने स्थानको रुपमा प्रयोग गर्दै आएको डाँडामा कार्यालय स्थापना हुनु नहुने अडान राखेका छन् ।
समितिका सदस्य सचिव एवम् जिल्ला मालपोत कार्यालय पाल्पाका प्रमुख नवराज बरालले सरकारको नाममा लापूर्जा रहेको ४८ रोपनी जग्गामा कार्यालय स्थापनाका लागि सिफारिश गरेको बताए । स्थानीयबासिन्दा गीरबहादुर थापाले भने स्थानीयले संरक्षण गर्दै आएको स्थानमा कार्यालय स्थापना हुन नहुने जिकिर गरे ।
देब पचभैया, पाल्पा
