समाचारबिहीबार, जेठ २२, २०७१

एमालेमा ७० वर्षपछि अनिवार्य अवकाशको प्रावधान

हिमालखबर

एमाले पार्टी संगठन विभागको २१ जेठमा बसेको बैठकले ७० वर्ष नाघेपछि केन्द्रीय कमिटीसहित पार्टीको कुनै पनि कार्यकारी पदमा बस्न नपाउने गरी विधानको मस्यौदा तयार पारेको छ।

केन्द्रीय सदस्यलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा ७० वर्षमा पार्टीबाट अवकाश लिने उमेर तोकिएको हो।

एमालेका शीर्ष नेतामध्ये अध्यक्ष झलनाथ खनाल ६५, उपाध्यक्ष वामदेव गौतम ६७, संसदीय दलका नेता केपी ओली ६३, माधवकुमार नेपाल, ईश्वर पोखरेल र प्रदीप नेपाल ६२ वर्षका छन्।

खनाल र गौतम उमेरकै कारण नवौं महाधिवेशनपछि अध्यक्ष हुनबाट वञ्चित हुने भएका छन्। अर्का स्थायी समिति सदस्य भरतमोहन अधिकारी ७० वर्ष काटिसकेकाले यसैपटक केन्द्रीय नेतृत्वबाट हट्नेछन्।

नवौं महाधिवेशनमा उपाध्यक्ष गौतम ‘वरिष्ठ उपाध्यक्ष’ मा उम्मेदवार बन्ने घोषणा गरेर प्रचारप्रसार गरिए पनि उक्त पद विधान संशोधन प्रस्तावमा छैन।

संगठन विभागका सदस्य रहेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाका अनुसार तीन उपाध्यक्ष र पाँचजना सचिव राख्ने गरी संशोधन प्रस्ताव पारित गरी वितरण गरिएको जानकारी दिए। विधान संशोधन प्रस्तावमा उपाध्यक्षले अनुगमन गर्ने मात्र उल्लेख छ।

विधान संशोधन प्रस्तावमा पाँचजना सचिवको जिम्मेवारी भने परिभाषित गरिएको छ। एकजनाले सचिवालयको सचिव भएर काम गर्नेछन्। अर्का एकजनाले संगठन विभाग हेर्नेछन् भने जनवर्गीय संगठन हेर्ने जिम्मा अर्को सचिवको हुनेछ। पार्टीको प्रचार विभाग र प्रकाशन हेर्ने अर्को सचिवको काम तोकिएको छ। राजकीय मामिला हेर्नेगरी अर्को सचिवलाई जिम्मेवारी प्रस्ताव गरिएको ज्वालाले जानकारी दिए।

एमालेमा कोषाध्यक्षको व्यवस्था छैन।

एक अध्यक्ष, पूर्व पार्टी प्रमुख एकजना वरिष्ठ नेता, तीन उपाध्यक्ष, एक महासचिव, पाँच सचिव गरी ११ जना पदाधिकारी हुने प्रस्ताव संगठन विभागले पारित गरेको छ।

महाधिवेशनपछि एमालेको केन्द्रीय कमिटी एक सय २५ सदस्यीय हुनेछ। हाल एक सय १६ सदस्यीय रहेकोमा नौजना थप्न लागिएको हो।

पदाधिकारीबाहेक ८९ जना पूर्ण केन्द्रीय सदस्य र २५ जना वैकल्पिक केन्द्रीय सदस्य हुने प्रस्तावमा उल्लेख छ।
यसअघि पाँच प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था रहेकोमा अहिले १० प्रतिशतसम्म मनोनयन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>