थप समाचारबिहीबार, जेठ २२, २०७१
कैलालीमा सिण्डिकेट विवाद– बस तोडफोड
कैलालीमा दुई बस व्यवासयी समितिबीचको विवादले गन्तव्यतर्फ गइरहेका र बसबिसौनीमा रोकिराखिएका बसमा भइरहेको तोडफोडले यात्रुले सास्ती झेल्नुपरेको छ । सुदूरपश्चिम यातायात व्यवसायी सङ्घ र कर्णाली रिभरसाइड यातायात व्यवसायी समितिबीच बस सेवा सञ्चालनका सम्बन्धमा तीन हप्तादेखि विवाद छ ।
कर्णाली रिभरले फूलबारी (कैलाली)–काठमाडौँ रुटमा वाइफाई र इन्टरनेट सुविधासहितका बस सञ्चालनको तयारी गरेपछि सुदूरपश्चिमले गरेको विरोधसँगै दुई समितिबीचको विवादले उग्र रुप लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २१ जेठ साँझदेखि २२ जेठ बिहानसम्म दुवै समितिका गरी झन्डै एक दर्जन बसमा तोडफोड भएको छ ।
आज बिहान गन्तव्यतर्फ गइरहेको कर्णाली रिभरको ना४ख ६६५८ नंको बसमा सुदूरपश्चिम यातायात व्यवसायी पक्षधरले पूर्वपश्चिम राजमार्गको लम्की–चिसापानी सडकखण्डमा तोडफोड गरेको कर्णाली रिभरसाइड यातायातले जनाएको छ ।
घटनापछि तोडफोड भएको बस सडकमा तेस्र्याइएपछि लम्की–चिसापानी राजमार्ग सडकखण्डमा यातायात सेवा अवरुद्ध भएको छ । गएराति धनगढीस्थित बसबिसौनीमा रोकिइराखिएको दुई वटै बस समितिका बससमेत तोडफोड गरिएको छ ।
कर्णाली रिभरसाइड यातायात व्यवसायी समितिले प्रचलित कानूनबमोजिम आफ्ना बस सञ्चालनमा सुदूर पश्चिम यातायातले रोक लगाउँदै अहिलेको प्रतिस्पर्धा युगमा एकाधिकार लाद्न खोजेको आरोप लगाएको छ । एकाधिकारमा बस चलाइरहेको सुदूरपश्चिम यातायात व्यवसायीले अरु व्यवसायीलाई यसक्षेत्रमा पस्न नदिने प्रयास गरेको रिभरसाइडको आरोप छ ।
दुवै समितिबीचको विवाद समाधान गर्न केही दिनअघि बसेको बैठकमा सहमति गरेको भए पनि सहमतिको पालना नगरेको आरोप सुदूरपश्चिम यातायात व्यवसायी समितिले लगाएको छ ।
घटना नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि हातपात गर्ने धनगढीका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक विष्ट र प्रहरी जवान प्रकाश सिंह सामान्य घाइते भएका छन् ।

