थप समाचारबिहीबार, जेठ २२, २०७१
इको फेयर २०१४ शुरु
हिमाल मिडिया र वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त आयोजनामा शुरु भएको तीनदिने इको फेयरको नेपाल सरकारका मुख्य सचिब लीलामणि पौडेल, हिमाल मिडियाका अध्यक्ष अम्बिका श्रेष्ठ र यूएनह्याबिट्याटका वातावरणबिद् भूषण तुलाधरले तीनवटा बिरुवामा पानी राखेर संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
वातावरणमैत्री उत्पादनमा जोड दिदैं त्यसको बिस्तार र जैबिक महत्वबारे जानकारी गराउन सन् २०१२ देखि हरेक बर्ष नेपाली टाइम्स इको फेयर हुँदै आएको छ । जलवायु परिबर्तन र मानवजन्य कारणले निम्तिएको वातावरणीय समस्या र त्यसले मानव स्वास्थ्यमा पारेको असर कम गर्न मद्दत पुर्याउनका लागि आयोजित प्रदर्शनीमा ७० वटा स्टल छन् ।
प्रदर्शनीका मुख्य आकर्षणमा वातावरणमैत्री सौर्य उर्जा र वायो उर्जा, जलविद्युत/साना जलविद्युत, वातावरणमैत्री सेवा, लोक्ता कागज प्रशोधन, माटोका भाडा बनाउने प्रबिधि, बायो ब्रिकेट, आयुर्बेदिक जडिबुटी, जैबिक खाद्य तथा पेय पदार्थको प्रबिधि, उर्जा बचत प्रबिधि, वातावरणमैत्री पर्यटन, रेन वाटर हार्भेस्टिङ, विद्युतीय साधनहरुको बिशेष प्रदर्शनी छन् ।
आफ्नै वपिरपरीका सामानबाट कसरी वातावरणमैत्री घर र समाज बनाउन सकिन्छ भन्नेबारे अबलोकनकर्ताले जानकारी पाउने छन् ।
उद्घाटन कार्यक्रममा मुख्य सचिब पौडेलले अर्थतन्त्र र दीगो आर्थिक विकासका लागि पर्यावरण संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए । “पर्याबरण बिग्रिएमा अर्थतन्त्रले ठूलो नोक्सानी बेहोर्नु पर्ने हुन्छ” मुख्य सचिब पौडेलले भने “त्यसैले वातावरणमैत्री हुनु भनेकै अर्थतन्त्र मजबुत हुनु हो ।” पुर्खाले हामीलाई स्वच्छ वातावरण दिएजस्तै हामीले पनि सन्ततीलाई स्वच्छ वातावरण सुम्पनुपर्ने उनले बताए । वागमती सफाई अभियानका प्रमुख अभियान्ता समेत रहेका पौडेलले भने “सरसफाईको चेतना बढाउन सकिएमा त्यो नै सबैभन्दा ठूलो उपलब्धी हुनेछ ।”
कार्यक्रममा वातवारणबिद् भूषण तुलाधरले स्वच्छ वातावरण नै सुखी परिवारको आधार भएकोले यसको शुरुवात हरेकले आफैबाट गर्नुपर्ने बताए । नेपाली समाज र संस्कृति वातावरणमैत्री भएको प्रसंग उल्लेख गर्दै तुलाधरले भने “तर तीब्र विकासका कारण केही समय अल्मलिएको नेपाली समाज पुनः वातावरण संरक्षणमा अग्रसर भएको छ ।”
परिबर्तनका बाहक जनताको आवाजलाई सरकार समक्ष पुर्याउन यस किसिमका मेलाले सघाउ पुग्ने उनले बिश्वास व्यक्त गरे ।
नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षितले अधिकांश नेपालीका लागि टाउको दुखाईको बिषय बनेको फोहोर फाल्ने चीज नभई यसबाट आर्थिक उपार्जन गर्न सकिने बताए । उनले यसका लागि सरकारी निजी साझेदारीमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिए ।

