समाचारबिहीबार, जेठ २२, २०७१
लाइन लगाएर निर्घात कुटे शिक्षकले, ५ कक्षाका छात्र गम्भीर घाइते

शिक्षकको कुटाइले घाइते खानीगाउँ मावि पाल्पामा ५ कक्षाका छात्र दिलिप बिक (दायाँ) र सरस्वती मावि सुन्दरपुरका छात्र प्रकाश सुनार । तस्वीरः देव पचभैया, पाल्पा
पाल्पाको खानीगाउँ माविका गणित शिक्षक रामप्रसाद गैरेले कक्षा ५ का १२ जना विद्यार्थीलाई गृहकार्य नगरेको निहुँमा लाइन लगाएर निर्घात कुटेपछि विद्यार्थीहरु घाइते भएका छन् । कुटाइबाट घाइते भएका विद्यार्थीलाई तानसेन अस्पतालमा उपचार गरिएको छ भने अभिभावकले जिल्ला प्रहरी कार्यालयमा शिक्षक विरुद्ध उजुरी दिएका छन् ।
घाइते विद्यार्थीका शरिरका बिभिन्न भागमा निलडाम परेको छ भने एकजना घाइते दिलिप विकको अनुहार सुन्निएर आँखासमेत उघार्न नमिल्ने भएको छ । दिलिपलाई उपचारका लागि तानसेन अस्पताल लगेकोमा उक्त अस्पतालले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान रिफर गरेको छ ।
प्रधानाध्यापकले पनि कुटे
पाल्पाकै सरस्वती माबि सुन्दरगाउँका प्रध्यानाध्यापक शंकर पौडेलले कक्षा १० का प्रकास सुनारलाई कुटपिट गरेका छन् ।
कक्षा शुरु हुनुअघि प्रार्थनाको लाईन लागेका बेला प्रधानाध्यापकले सर्टको मथिल्लो टाँक बन्द गर्न भनेको र त्यसपछि आफुलाई कक्षामा आएर निर्घात कुटेको बिधार्थी सुनारले बताए । उनले भने, “कक्षा कोठामा साथीहरुले नकुट्न भनेपछि आफ्नै कोठामा लगेर लात्ताले कुट्नु भयो ।”
छोरा उठ्नै नसक्ने भएपछि उनकी आमा लक्ष्मी सुनारले जिल्लाप्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।
२१ जेठमा कुटाइ खाएका विद्यार्थीहरु उठ्नै नसक्ने गरी थला परेपछि अभिभाबकहरुले २२ जेठमा तानसेनमा ल्याएर उपचार गराएका छन् ।
घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ । घटनाको पाल्पाका सबै विद्यार्थी संगठनले विरोध गरेका छन् ।
देब पचभैया, पाल्पा
