थप समाचारशुक्रबार, जेठ २३, २०७१
चीनलाई लगानी निम्ति प्रधानमन्त्री कोइरालाको आग्रह

प्रधानमन्त्री सुशील कोइराला युनान प्रान्तका चिनियाँ कम्यूनिष्ट पार्टीका सचिव किन गुनेरोङसँग भेटवार्ताका क्रममा
कुन्मिनको हैगन गार्डेन होटलमा प्रधत्रानमन्त्री सुशील कोइराला र चीनका उपप्रधानमन्त्री वाङ याङबीच भएको भेटमा दुई देशको हितका बारेमा छलफल हुनुका साथै नेपाललाई आर्थिक सहयोग र लगानीका निम्ति प्रधानमन्त्री कोइरालाले आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
आजै बिहान प्रधानमन्त्री कोइरालाले ह्वानेङ लाङ्कन नदी किनारमा निर्मित जलविद्युत् आयोजनाको अवलोकन भ्रमणसमेत गरेका छन् ।
कोइरालाले आज स्थानीय समयअनुसार अपराह्न २ः२० बजे दोस्रो चीन–दक्षिण एसिया प्रदर्र्शनीको नेपाल थिम प्याभिलियनको उद्घाटन गर्ने कार्यक्रम छ । उक्त उद्घाटन कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापाले मन्तव्य दिनेछन् ।
अपराह्न ३ बजे प्रधानमन्त्री कोइराला प्रदर्शनीको समुद्घाटन समारोहमा सरिक भई प्रमुख वक्ताका रूपमा समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कोइरालाको निजी सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री कोइरालासँग २२ जेठमा युनान प्रान्तका गभर्नर ली जिहाङ र युनान प्रान्तका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव किन गुनेरोङले भेट गरेका थिए भने कोइरालाको सम्मानमा गभर्नर जिहाङले आयोजना गरेको रात्रिभोजमा उनी सरिक भएका थिए ।
दुई दिवसीय भ्रमण पूरा गरी प्रधानमन्त्री कोइराला आजै अपराह्न ६:२० बजे स्वदेश फर्कंदै छन् ।
