समाचारशुक्रबार, जेठ २३, २०७१
सन्कीले लगाइदिए बालक र बृद्धलाई संगिनी सुई
जिल्लाको चोकमागू उपस्वास्थ्य चौकी अन्तर्गतका खोप केन्द्रका लागि पठाइएका गर्भनिरोधक सुई रहेको भ्याक्सिन क्यरियर (भ्याक्सिन वोक्ने झोला) त्यहाँका भ्याक्सिनेटर खिमनाथ तिम्सिनाले जथाभावी छोडेपछि त्यो झोला भेट्टाएका ताप्लेजुङ जिल्लाको तेल्लोक ७ निवासी कृष्ण बर्देवाले दुरुपयोग गरेका छन् ।
फिदिम ४ को सारन्ता र भारपा ८ को टाहारी भन्ने स्थानमा ती भ्याक्सिन र औषधी फेला पारेका बर्देवाले आफूलाई सरकारले गर्मी र जलवायु परिवर्तनका कारण लाग्ने हैजा, रुघा, खोकी र झाडापखाला जस्ता महामारी रोक्न खटाएको भन्दै डेढ दर्जन बालक र बृद्वलार्ई लगाइदिएका छन् ।
२३ जेठ विहान फिदिम ४ सारन्ता पुगेका वर्देवाले गाँउभरीका बालवालिकालाई देविस्थान चौतारो भन्ने स्थानमा भेला गराएर सुई लगाइदिएका हुन् ।
उनले ७ महिनाका अरुण श्रेष्ठ, ६ वर्षीय निर्मल श्रेष्ठ, ५ वर्षीय होमकुमार श्रेष्ठ र २ वर्षीय आसिका श्रेष्ठ सहित डेढ दर्जन वालवालिकालाई खोप भन्दै गर्भनिरोधक सुई लगाइदिएका छन् ।
सुई लगाउने क्रममा उनले स्थानीय महिलासँग जाँड मागेर खाएपछि महिलालाई शंका लागी प्रहरीलाई खवर गरेकी थिइन् ।
ती बालवालिकालाई सुई लगाउनुपूर्व बर्देवाले भारपा ८ टाहारीका ६० वर्षीय धनवहादुर तामाङलाई पनि एकैचोटी दुईवटा सुई लगाइदिएको स्वीकार गरेका छन् ।
स्थानीयले शंका गर्न थालेपछि बर्देवा भ्याक्सिन केरियर फ्याँकेर भागेका थिए । यद्दपी सादा पोशाकमा खटेका प्रहरीले उनलाई पक्राऊ गरेको छ ।
बर्देवाले भ्याक्सिन केरियरसँगै फ्याकेका औषधी र कागजात पनि प्रहरीले वरामद गरेको छ भने गर्भ निरोधक सुई लगाइदिएका बालवालिका अपराह्नसम्म निदाइरहेको अवस्थामा छन् ।
असरबारे थाहा छैन
परिवार नियोजनको अस्थायी साधनका रुपमा प्रयोग गरिने सुई नावालक र वृद्ववृद्वलाई लगाँउदा कस्तो असर गर्छ भन्ने विषयमा यहाँका स्वास्थ्यकर्मी आफैं अनभिज्ञ छन ।
पाँचथर जिल्ला अस्पतालका डाक्टर कालिप्रसाद यादव यो घट्ना पहिलो र नौलो भएको भन्दै त्यस्ता सुई लक्षित वर्ग भन्दा वाहिरका वाल वालिकालाई लगाँउदा कस्तो असर पर्छ ? भन्नेवारे अनुसन्धान नै नभएकाले केहि भन्न नसकिने वताए ।
प्रहरी पनि पक्राऊ परेका वर्देवा माथि कस्तो कार्वाहि अगाडी वढाउने भन्ने विषयमा अन्यौलमा छ ।
‘अहिले अनुसन्धान गरिरहेका छौं, उनी विरुद्ध कस्तो मुद्दा दर्ता गर्ने भन्ने विषयमा भने माथिल्लो निकाय र जिल्ला न्यायधिवक्ताको राय नलिई भन्न सक्ने अवस्था छैन,” प्रहरी निरीक्षक सञ्जिववावु खड्काले भने ।
कसरी दुरुपयोग भयो भ्याक्सिन
भ्याक्सिन उप स्वास्थ चौकी चोकमागूका भ्याक्सिनेटर खिमनाथ तिम्सिनाको लापरवाहिका कारण दुरुपयोग भएको खुलेको छ ।
तिम्सिनाले १७ जेठमा जिल्ला स्वास्थ कार्यालय पाँचथरको स्टोरवाट भ्याक्सिन वुझेका थिए । त्यसपछि नजिकै रहेको मुना मेडिकलमा राखेपछि भ्याक्सिन केरियर सहित औषधी गायव भएको उनी वताँउछन ।
तिम्सिनालाई विभागीय कार्वाही गरिने जिल्ला जन स्वास्थ अधिकृत शम्भुकुमार साहले वताए ।
पक्राउ परेका वर्देवाले भने आफूले जिल्ला स्वास्थ कार्यालय अगाडिको खुल्ला चौरमा केरियर भेटेपछि सुई लगाउन गाँउ गएको वयान प्रहरीलाई दिएका छन ।
ताप्लेजुङको तेल्लोक घर भई केहि समययता पाँचथर सदरमुकाम फिदिममा श्रमिकका रुपमा काम गर्दै आएका बर्देवा मानसिक रोगी हुनसक्ने प्रहरीको अनुमान छ ।
लक्ष्मी गौतम, पाँचथर

