समाचारशुक्रबार, जेठ २३, २०७१

बलात्कारीसँगै किशोरीको विवाह गराउने निर्णय, बलात्कारी फरार

हिमालखबर

गर्मीका कारण घरको ढोका खुल्ला राखेर सुतेकी सप्तरीको कञ्चनरुप नगरपालिका–१ (साविक बदगथामा गाविस– ५) की १९ वर्षीया किशोरीको स्थानीय १७ वर्षीय किशोर रफिद शेखले १२ जेठको राति बलात्कार गरेको किशोरीका आफन्तले बताएका छन् ।

पीडित पक्षले २३ जेठमा पत्रकार सम्मेलन गरी स्थानीय नेताहरुले न्याय दिनुको सट्टा आफूहरुलाई थप पीडित बनाएको बताएका छन् ।

बलात्कारपछि युवती चिच्याउँदा छिमेकीहरु दौडेर आए पनि बलात्कारी फरार भइसकेका थिए ।

घट्नाको अर्को दिन १३ जेठमा गाउँलेले गरेको पञ्चायतीमा स्थानीय केही नेताले पीडित युवतीको विवाह पीडक रफिदसँग गराइदिने निर्णय गरेका थिए ।

विवाहको निर्णयपछि रफिद कतै नभागोस् र किशोरीले कतै उजुरी नगरुन भन्ने ग्यारेन्टीका लागि पञ्चायतीले दुवै पक्षलाई रु ३ लाख ५१ हजारको कागज गराएको स्थानीय शिक्षक मोइम शेखले बताए ।

पञ्चायती गर्नेमा बदगामा गाविसका निवर्तमान उपाध्यक्ष इकाइल शेख, हाकिम शेख, मसरुफ शेख र फिरंगी शेखले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले जानकारी दिए ।

“जे हुनु थियो भयो, अब कतै उजुरबाजुर नगर्नु” पञ्चायतले गरेको निर्णयलाई उद्धृत गर्दै पीडितका पिताले भने, ‘‘कसैलाई नभने र उजुरी नगरे रफिदसँग छोरीको विवाह गराइदिन्छौं, त्यसैमा सहमति गर ।”

अहिले अगुवाहरुले नै रफिदलाई वेपत्ता पारेको पीडित परिवारको भनाई छ । “न त दोषी कार्वाहीको दायरामा आउन सक्यो, नत छोरीको विवाह हुन सक्यो,” पत्रकार सम्मेलनमा पीडितका पिताले भने, ‘‘३ लाख ५१ हजारको कागज देखाएर रकम असुली गर्ने धम्की दिइरहेकाले झन् अन्यायमा परेको छु ।’’

पत्रकार सम्मेलनमा उपस्थित शिक्षक नोइमले युवतीको बलात्कार भएको प्रमाण नष्ट गराएर पीडकलाई उन्मुक्ति दिनेहरुलाई कार्वाही हुनुपर्नेमा जोड दिए । यसबारेमा इलाका प्रहरी कार्यालय कञ्नपुरमा उजुरी दिदाँ प्रहरीले दर्ता गर्न नमानेको उनले बताए ।

अधिकांश गाउँले पीडककै पक्षको भएको बताउँदै उनले न्यायका लागि पहल गरिदिन अधिकारकर्मी, संचारकर्मी, राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन् ।

यसैबीच इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक दिपक कार्कीले बलात्कार भए, नभएको सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् ।

उनले युवती बढी उमेरका भएकाले जर्वजस्ती भएको हुन नसक्ने सम्भवना भएको भन्दै वास्तविकता बुझेर मात्र उजुरी दर्ता गर्ने बताएका छन् ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>