समाचारशनिबार, जेठ २४, २०७१
यार्सा सिजनको शुरुवातसँगै आपराधिक गतिविधि बढ्दै
सुरक्षा निकायले डोल्पाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारेको बताए पनि वैशाखको सुरुवातसँगै अहिलेसम्म पटकपटक गरेर पाँच वटा बेवारिसे मृत्यु, दुई घरमा दिन दाहाडै लुटपाट, दुई व्यक्ति हतियारसहित पक्राउ, नगद लुटपाट, सहरता गाविसको गुम्बातारामा ४० थान बुद्धका मूर्ति चोरीलगायतका घटना भएका छन् ।
गत वर्ष माथिल्लो डोल्पाको सुनदहमा २४ जना व्यापारी तिब्बतबाट यार्साको व्यापार गरेर फर्किने क्रममा बेलुकी ६ बजे रु ६ करोड सहित सात तोला सुन हतियारधारी समूहले लुटेको अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । घटनाको विषयमा अनुसन्धान मात्र भइरहेको बताइरहने प्रहरी प्रशासन कुनै पनि घटनामा संलग्न अपराधीलाई समातेर कारबाही चलाउन सकेको छैन ।
प्रहरी प्रशासनको फितलो सुरक्षा व्यवस्थाका कारण हतियारधारी समूह ठूलै मात्रामा भित्रिएको स्थानीयवासी बताउँछन् ।
यस समयमा यार्सा सङ्कलनको ठूलो परिमाणमा पैसा लिएर पाटन पुग्ने आन्तरिक तथा बाह्य यार्सा व्यापारी पनि चोरको बिगबिगीका कारण रातारात सुरक्षित स्थानतिर फर्किरहेको स्थानीयवासी टीकादत्त न्यौपानेले बताए ।
यस्ता घटनालाई मध्यनजर गरेर डोल्पाका काईगँउ, फोक्सुन्डो, सुनदहलगायतका चार वटा संवेदनशील नाकामा सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । रासस
