समाचारशनिबार, जेठ २४, २०७१
अब संसद् बैठक अवरुद्ध हुँदैन: वर्षमान पुन
पूर्व अर्थमन्त्री समेत रहेको एमाओवादी नेता वर्षमान पुनले रकमान्तरको विषयलाई भन्दा पनि राजनीतिक सहमति कार्यान्वयन गर्न सरकारले आनाकानी गरेका कारण संसद् रोकिएको भन्दै भोलिदेखि संसद् अवरुद्ध नगर्ने बताएका छन् ।
२४ जेठमा रिपोटर्स क्लबद्वारा आयोजित कार्यक्रममा उनले भने, “बजेटमा राजनीति गर्नु हुँदैन, यो सरकारलाई नियमित रूपमा बजेट ल्याउन दिनुपर्छ ।”
अर्थमन्त्रीका लागि रकमान्तर जरुरी रहेको उल्लेख गर्दै सचिव पुनले दीर्घकालीन महत्वका आयोजनाका लागि आवश्यकताअनुसार रकमान्तर गर्न सकिने तर राजनीतिक दृष्टिकोणले साना टुक्रे कार्यक्रममा रकमान्तर हुन नहुने धारणा राखे ।
अर्थ सचिव युवराज भुसालले पूर्वाधारलाई केन्द्रित गरेर बजेट तयार परिएको उल्लेख गर्दै सदन खुलेको दुईसाताभित्र संसद्मा बजेट प्रस्तुत गर्न सकिने बताए । आगामी आर्थिक वर्षको बजेटले शिक्षा, कृषि, पूर्वाधार विकास, पर्यटनजस्ता क्षेत्रले प्राथमिकता दिएको उनको भनाई छ ।
अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले शर्तसहित रकमान्तर गर्न सकिने भए पनि रकमान्तरलाई निरन्तरता दिने हो भने त्यसले आर्थिक क्षेत्रको आकारमा समस्या ल्याउने बताए । उनले जनताको जीवनसँग जोडेर सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिँदै स्वास्थ्य, शिक्षा, रोजगारी तथा मूल्यवृद्धिलाई सम्बोधन गर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए ।
