समाचारआइतबार, जेठ २५, २०७१
थनेत एमालेमै फर्किए
नवलपरासीको कावासोतीस्थित आफ्नै घरमा २५ जेठमा पत्रकार सम्मेलन गरी संघीय समाजवादी पाार्टीका पोलिटब्युरो सदस्य मझीलाल थारु थनेतले एमालेमा फर्किएको घोषणा गरेका छन् । एक वर्षअघि संघीय समाजवादीमा प्रवेश गरेका थनेत त्यसअघि एमालेमै थिए ।
संघीय समाजवादी पार्टीले जातीय मुक्ति गर्दै समाजवादमा पुग्ने लक्ष्य निर्धारण गरेपनि त्यसबाट बिचलित भएकाले एमालेमा फर्किएको थनेतले बताएका छन् ।
एमालेको नीतिबाटै समाजवादमा पुग्न सकिने र एमालेको नवौं महाधिबेशनको दस्तावेजमा स्पष्ट रुपमा सामाजिक आर्थिक रुपमान्तरणको मोडेल प्रस्तुत भएकाले एमालेमा फर्कने निर्णय गरेको थनेतको दाबी छ । उनले संघीय समाजवादीमा व्यक्तिवादी चिन्तन हावी भएको, द्वैध चरित्र प्रस्तुत भएको उनले आरोप लगाए ।
२०४८ र २०५१ मा नवलपरासी क्षेत्र नं २ बाट एमालेका सांसद थनेत २०६३ साल पछि पाँच बर्ष लुम्बिनी विकास कोषको कोषाध्यक्ष समेत थिए ।
उनले एमालेबाट संघीय समाजवादी पार्टीमा गएका कार्यकर्ताहरुलाई एमालेमै फर्किन आह्वान पनि गरेका छन् ।
विद्रोही गिरी, नवलपरासी
