समाचारआइतबार, जेठ २५, २०७१
अर्मलाको रोग पत्ता लाग्यो, उपचार बाँकी
-सन्त गाहा मगर
२६ कात्तिक २०७० मा भकारी आकारको भ्वाङ देखिएपछि चर्चामा आएको कास्कीको अर्मला क्षेत्रमा के भएको हो भनेर गरिने ‘इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी’ (ईआरटी) अध्ययन सकिएकोे छ ।
जमीनमा फलामको किला गाड्ने र त्यसबाट करेन्ट प्रवाह गरेर भित्रको अवस्था पत्ता लगाइने यो विधि झ्न्डै मान्छेको एक्सरे गरे जस्तै हुन्छ । यो परीक्षण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण विभागले प्रोफेसनल नेटवर्क फर इन्जियिनरिङ सर्भिसलाई जिम्मा दिएको थियो । जसको टोलीले २६ वैशाखदेखि १५ जेठसम्म त्यहाँको परीक्षण गरेको थियो ।
अर्मलामा अध्ययन गरेका जिओफिजिसिस्ट उमेशचन्द्र भुसाल ईआरटीबाट बस्ती वरपर मात्रै ६ वटा भ्वाङ पत्ता लागेको र तिनलाई डोजर लगाएर पुरिएको बताउँछन् । (हे. तस्वीर)
संकलित सबै तथ्यांकको विश्लेषणपछि बाँकी स्थानमा भ्वाङ भए/नभएको बताउन सकिने उनको भनाइ छ । २५ असारभित्र रिपोर्ट बुझउनुपर्ने भए पनि एक हप्तामै सबै क्षेत्रको भ्वाङको अवस्था र भूमिगत पानी वहावको दिशा पत्ता लाग्ने उनले बताए ।
घर, गोठ, विद्यालय, बाटो जस्ता संवेदनशील क्षेत्रका भ्वाङ पत्ता लगाएर पुर्न सकिएकाले दीर्घकालीन समाधानको बाटो पनि पत्ता लाग्ने सम्भावना बढेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका सिनियर डिभिजनल इन्जिनियरिङ जिओलोजिस्ट श्रीकमल द्विवेदी बताउँछन् । अर्मलाको रोग पत्ता लागेकाले अब राम्रो उपचार गर्न बाँकी रहेको उनको भनाइ छ ।
२४ मंसीर २०७० मा सिंचाइ विभागका रमेश गौतमको संयोजकत्वमा गठित प्राविधिक अध्ययन समितिको सिफारिश अनुसार ईआरटी गरिएको हो ।
कमजोर र पानीले सजिलै क्षयीकरण गर्न सक्ने चुनयुक्त सिल्ट (कमेरे माटो) को तह हुनु, दुहुनी खोला लगायतका अन्य खोल्सीहरूको प्राकृतिक वहावलाई अवरुद्ध गर्दा भूमिगत पानीको सतह बढेर चाप बढ्नु तथा प्राकृतिक र मानवीय कारणले काली खोला गहिरिई भूमिगत सुरुङ्गको तल्लो भागमा मूल फुटेर लेदो पानी काली खोलामा मिसिंदा पानीको चाप कम भई भूमिगत सुरुङ्गहरू तथा ढाँडहरू बनेको समितिको निष्कर्ष थियो ।
खानी तथा भूगर्भ विभाग र जर्मन भूगर्भशास्त्रीहरूको टोलीले सन् १९९८ मा तयार गरेको ‘इन्जिनियरिङ एन्ड इनभारोन्मेन्टल जिओलोजिकल म्याप अफ पोखरा’ मा अर्मलालाई आवादका लागि उपयुक्त नभएको र साइटको विस्तृत अध्ययनपछि एक तलासम्मको मात्र घर बनाउन सकिने भनिएको थियो ।
त्यो सुझवको पालना नहुनुलाई समितिले भ्वाङ पर्नुको प्रमुख कारण मानेको छ ।
सिनियर डिभिजनल इन्जिनियरिङ जिओलोजिस्ट द्विवेदी संरचना निर्माण गरेर भूमिगत रूपमा बगेको पानीलाई सतहबाट बगाउनुपर्ने बताउँछन् । काली खोलालाई गहिरिन नदिने उपाय पनि अपनाउनुपर्ने प्राविधिक अध्ययन समितिका सदस्य समेत रहेका द्विवेदीको सुझव छ ।


