समाचारसोमबार, जेठ २६, २०७१
गाविसरहित उपत्यका बनाइँदै, १३ नगरपालिका थपिने
सरकारले आगामी आर्थिक वर्षदेखि नै लागू हुने गरी उपत्यकाका तीनै वटा जिल्लाका गाविस मिलाएर कम्तिमा १३ वटा थप नगरपालिका बनाउने तयारी गरेको छ।
उपत्यकामा अहिले काठमाडौं महानगरपालिका, किर्तिपुर नगरपालिका, ललितपुरमा उपमहानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका गरी ५ नगरपालिका छन्।
नगर क्षेत्र निर्धारण सिफारिस समितिका अध्यक्ष केशवानन्द गिरीले ललितपुर जिविसले दुईवटा नयाँ नगरपालिकाको नाम सिफारिस गरेको तथा काठमाडौं ९ र भक्तपुरमा २ नगरपालिकाको सिफारिस भएको बताएका छन्।
सरकारले २५ वैशाखमा ७२ वटा थप नगरपालिका घोषणा गरेको थियो। हाल भक्तपुरमा १६, काठमाडौंमा ५७ र ललितपुरमा ४१ गाविस छन्।
सरकारले काठमाडौं र भक्तपुरका सबै गाविस र ललितपुरका दक्षिणी भेगका गाविस बाहेक अन्य गाविस मिलाएर नगरपालिका घोषणा गर्न लागेको हो।
