थप समाचारसोमबार, जेठ २६, २०७१
भारतमा २४ छात्रछात्रा नदीमा बगे
भारत हिमाचल प्रदेशको मंडी जिल्लास्थित व्यास नदीमा इञ्जिनियरिङ कलेजका २४ विद्यार्थीहरु बगेका छन् । बगेका १८ छात्र र ६ छात्रामध्ये ३ छात्र र दुई छात्राको शव फेला परेको छ । उनीहरु सबै ‘इन्डष्ट्रियल टुर’ मा हिमाचल गएका हैदरावाद इञ्जिनियरिङ कलेज दोस्रो वर्षका छात्रछात्रा थिए । घटना २५ जेठ साँझ भएकाे हाे ।
प्रहरी, होमगार्ड र स्थानीय गोताखोरले बगेकाहरुको खोजी जारी राखेका छन् । उनीहरु कोही पनि जीवित भेटिने सम्भावना नरहेको स्थानीय प्रहरीले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटनाबाट बचेका एक छात्रका अनुसार सबै विद्यार्थीहरु ब्यास नदीमा पानी कम भएका बेला फोटो खिचिरहेका थिए । त्यसैबेला उनलाई साथीहरुले नदीको पानी लैजानका लागि टाढा माथि राखिएको बोतल लिन पठाए तर, उनी फर्केर आउँदा बढेको पानीले साथीहरुलाई बगाइसकेको थियो ।
तीमध्येका पौडिन सक्ने तीन जना छात्रहरुले नदीमा हाम फालेर दुई जना छात्रालाई बचाए पनि उनीहरु आफैं भने पानीबाट बाहिर आउन सकेनन् । ती छात्रका अनुसार पूरा घटना तीस सेकेण्डभित्र भएको थियो ।
बाँध अधिकारीहरुले पानी छोड्नु अघि कुनै साइरन नबजाएको र त्यस्तो कुनै संकेत नदिएको दुर्घटनाबाट बचेका विद्यार्थीहरुको भनाई छ ।
मुख्यमंत्री वीरभद्र सिंहले घटनाको जाँचका लागि निर्देश दिनुका साथै लारजी जलविद्युत परियोजनाका रेजीडेंट इञ्जिनियरलाई निलम्बनको आदेश दिएका छन् ।

