समाचारसोमबार, जेठ २६, २०७१
डनवाद र धनवादको कुरा चर्काउने गतिविधिबाट दुःखी छुः ओली
एमाले संसदीय दलका नेता ओलीले महाधिवेशनको समग्र प्रक्रियालाई अस्वस्थ रुप दिने प्रयास भइरहेको आरोप लगाएका छन् । राजधानीस्थित भृकुटीमण्डपमा २६ जेठमा आयोजित ओली पक्षीय भेलालाई संबोधन गर्दै उनले भने, “महाधिवेशनको पूर्वसन्ध्यामा केही साथीहरूबाट समग्र प्रक्रियालाई नै अस्वस्थ रूप दिन भइरहेको प्रयासबाट म चिन्तित छु ।”
“एकातिर नीतिगत मतभिन्नता छैन भन्ने र अर्कोतिर ‘डनवाद’ र ‘धनवाद’ विरुद्धको सङ्घर्षका नाममा पार्टीलाई यो कित्ता र त्यो कित्तामा विभाजित गर्ने गतिविधिबाट म दुःखी छु,” उनले भने, “जबजसँग पटक्कै मेल नखाने यस्ता कतिपय प्रवृत्तिहरूले पार्टी जीवनलाई हित गर्दैन ।”
उनले आफ्नो बाँकी जीवन मुलुक र पार्टीका लागि समर्पित गर्ने पनि बताए । “एमालेलाई अब जुझारु र जनतामा आधारित सशक्त सङ्गठन बनाउन जरुरी छ,” उनले भने, “औचित्य र विवेकका आधारमा एकता र सहमतिसहितको नेतृत्व चयन गर्नुपर्छ ।”
’
पार्टीमा हावी हुनै नसक्ने गरी नेपाललाई हराऔंः गौतम
नेकपा एमाले उपाध्यक्ष बामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कहिल्यै हावी हुन नसक्ने गरी हराउनुपर्ने बताएका छन् । उनले भने, “माधवकुमार नेपालले सकेसम्म अध्यक्षमा उम्मेदवारी दिन हुँदैन, दिएमा पनि उनलाई फेरि पार्टीमा कहिल्यै हावी हुन नसक्ने गरी हराउनुपर्छ ।”
कार्यक्रममा उपाध्यक्ष विद्या भण्डारीले नेतृत्व हस्तान्तरणले नै एमालेलाई नयाँ जीवन दिन सक्ने बताइन् । महासचिव ईश्वर पोखरेलले सक्षम र गतिशील नेतृत्वका लागि ओलीलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिए ।
रासस

