समाचारबुधबार, जेठ २८, २०७१
मापसे गरेर पढाउने २२ शिक्षकलाई कारबाही
शिक्षकले विद्यालयमा मापसे गरेर पढाउने गरेको जिल्ला शिक्षा कार्यालय इलामले थाहा पाएपछि त्यस्ता शिक्षकलाई विभागीय कारबाही शुरु गरेको छ ।
शिक्षक आचारसंहिता र कानूनविपरीत मापसे गरेर पढाउने शिक्षकको विवरण लिएर कारबाही शुरु गरिएको जिशिकाले जनाएको छ । अहिलेसम्म २२ जना यस्ता शिक्षकलाई कार्यालयले विभागीय कारबाही थालेको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए । मापसे गर्ने शिक्षकले विद्यालयलाई जानकारी नै नदिई लामो समयसम्म अनुपस्थित हुने गरेको समेत पाइएको छ ।
मापसे गर्ने २२ जना शिक्षकमध्ये १० जना कारबाहीमा परेका छन् । तीमध्ये तीनजनाले आफैँले जागिर छाडेको जिशिकाले जनाएको छ । सातजनाले मापसे गर्न छाडेर बानी व्यहोरा परिवर्तन गरेको जिशिअ पुरीले बताए ।
जिशिकाले स्थानीय एफएम रेडियो, दैनिक तथा साप्ताहिक पत्रपत्रिकामा सूचना प्रकाशन गरेको थियो । त्यस्ता शिक्षकको जानकारी दिने व्यक्तिको नाम गोप्य राख्न थालेपछि उजुरी बढ्दै गएको बताइएको छ ।
उजुरी पर्न थालेपछि कार्यालयले त्यस्ता विद्यालयको अनुगमन गर्न थालेको छ । अनुगमनका क्रममा जिशिअले मापसे गर्ने शिक्षकलाई प्रत्यक्ष रूपमा आचरण सुधार्न निर्देशन दिने र आचरण सुधार नगरे विभागीय कारबाहीको प्रक्रिया अघि बढाउने जानकारी दिए ।
मापसे गरी कारबाही गरिएका शिक्षकको नाम भने गोप्य राखिने कार्यालयले जनाएको छ । एक/दुईजनालाई कारबाही गरेपछि अन्य धेरैले आचरण सुधार गरेको पाइएको जिशिकाले बताएको छ ।
रासस
