समाचारबुधबार, जेठ २८, २०७१
ओलीले अध्यक्षमा दाबी गर्ने आधार छैनः नेता नेपाल

पुष्पलाल स्मृति प्रतिष्ठानले २८ जेठमा घोराहीमा गरेको कार्यक्रमलाई संबोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । तस्वीरः देविका घर्ती मगर
नेकपा एमालेका वरिष्ठ नेता नेपालले नवौं महाधिवेशनका लागि ओलीले अध्यक्षमा दावी गर्ने कुनै आधार नभएको बताएका हुन् । पुष्पलाल स्मृति प्रतिष्ठानले २८ जेठमा घोराहीमा गरेको कार्यक्रममा उनले ओलीले ल्याएको दस्तावेज नै थोत्रो भएकाले अध्यक्षमा दावी गर्ने आधार नभएको प्रष्टाए ।
“नेपालमा अहिले नै समाजवाद ल्याउनुपर्छ, पुँजीवाद अहिले आईसकेको छ र वर्ग संघर्षको अब आवश्यकता छैन भन्ने ओलीको दस्तावेजका मुख्य तीन कुरा सबैभन्दा गलत छन्, थोत्रा भइसके,” नेपालले भने । उनले ओली संसदीय दलका नेता भएका कारण पनि अध्यक्षमा दावी गर्न नमिल्ने बताए ।
पद पाउनलाई ओली समूहले विचारलाई ओझेलमा पार्ने काम गरिरहेको भन्दै उनले भने, “देश चलाउन पार्टी ठीक हुनुपर्छ, पार्टी ठीक हुन नीति ठीक हुनुपर्छ र त्यो परिचालन गर्न महाधिवेशनमार्फत् सही विचार बोकेको हाम्रो समूहलाई जिताउनुपर्छ ।”
देविका घर्ती मगर, घोराही
