थप समाचारबिहीबार, जेठ २९, २०७१

घुम्न जाउँ ढोरपाटन (तस्वीरसहित)

हिमालखबर

रुकुम, म्याग्दी र बाग्लुङ जिल्लाको १ हजार ३२५ बर्ग किलोमिटरमा फैलिएको ढोरपाटन शिकार आरक्षमा सम्बन्धित निकायको अनुमतिमा तोकिएको शुल्क तिरेर जंगली जनावर नाउर र झारलको शिकार गर्न पाइन्छ ।

असोजको शुरुवातसम्म वर्षा हुने र हिउँदमा हिउँले ढाकिने ढोरपाटनको उत्तरी सीमामा पुथा, चुरेन र गुर्जा हिमालहरू स्पष्ट देख्न पाइन्छ । यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटर देखि ५,५०० मिटर उचाईमा अवस्थित छ।

ढोरपाटन जान पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी बाट अर्घाखाँची, प्यूठानको सौतामारे, गुल्मीको पुर्कोटदह, सिर्सेनी, बाग्लुङको बुर्तिबांगहुँदै पुग्न सकिन्छ । भर्खरै खुृलेको यो सडक ट्रयाकबाट सालझण्डीबाट ढोरपाटन पुग्न १३ घण्टा लाग्छ ।

सालझण्डीबाट ढोरपाटनसम्मको दुरी १८० किलोमिटर मात्रै छ । बाग्लुङको बुर्तिबाङबाट ढोरपाटनका लागि जीपहरु चल्ने गर्छन् । बुर्तिबाङबाट ढोरपाटन पुग्न जीपलाई करिब ३ घण्टा लाग्छ ।

पूर्वाधार विकास हुनसकेमा लुम्बिनी आउने पर्यटकहरुका लागि ढोरपाटन आकर्षक गन्तव्य हुनसक्ने स्थानीय बताउँछन् । लुम्बिनीको तातो गर्मीले निसास्एिका पर्यटकलाई १८० किलोमिटरकै दूरीमा चिसो र रमाइलो ढोरपाटन छ भन्ने प्रचार गर्न सकेमा स्थानीय विकासमा सहयोग पुग्ने र पर्यटकहरुका लागि आकर्षक गन्तव्य बन्नसक्ने सम्भावना छ ।

अहिले ढोरपाटनमा बस्नका लागि केही साना होटल, गेस्टहाउस भए पनि सुविधासम्पन्न होटेल रेष्टूराँहरु छैनन् ।

जेठको अन्तिम साता पनि बाक्लो सिरक ओढेर सुत्नुपर्ने ढोरपाटन क्षेत्रमा चिसो र स्वच्छ पानीका मुहानहरु थुप्रै छन्, जुन पर्यटकका लागि पनि आकर्षणको विषय हुनसक्छ ।

ढोरपाटन शिकार आरक्षमा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लाली गुराँस, ठिँग्रे सल्ला, सिंदूर, धुपी तथा देबदारु लगायतका वनस्पतिहरू पाइन्छन्।
१ सय ८५ थरीका दुर्लभ वनस्पति भएको यसक्षेत्रमा उच्च पहाडी सिमसार क्षेत्र, ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुङ्गी नाउर, झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर, रेड पाण्डा, कस्तुरी मृग लगायतका जंगली जनावर र डाँफे, मुनाल लगायतका पंक्षीहरू पाइन्छन् ।
ढोरपाटन घुम्नका लागि गर्मी महिना नै उपयुक्त हुन्छ ।

ढोरपाटनमा जस्तो घोड सवारी र प्राकृतिक दृश्यावलोकन रमाइलो अन्यत्रभन्दा नितान्त फरक हुन्छ ।

यो गर्मीका बेला जाने हैन त चिसो ढोरपाटन घुम्न ?

प्रेमनारायण आचार्य, अर्घाखाँची

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>