समाचारशुक्रबार, जेठ ३०, २०७१
प्रजातन्त्रवादी नेतृ सू ची काठमाडौंमा
३० जेठ दिउँसो नेपाल आएकी म्यानमारको नेशनल लिग फर डेमोक्रेसीकी अध्यक्ष एवम् प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीलाई भू संरक्षण मन्त्री महेश आचार्य , बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराइलगायतले विमानस्थलमा स्वागत गरेका छन् ।
‘प्रजातान्त्रिक समाजवादको भविष्य’ शीर्षकमा बिपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख वक्ताका रुप भाग लिन सू ची नेपाल आएकी हुन् । उनलाई प्रधानमन्त्री सुशील कोइरालाले नेपाल भ्रमणको निम्तो दिएका थिए ।
सरकारले सू चीको भ्रमणलाई राष्ट्रप्रमुखसरहको हैसियत दिने निर्णय गरेको छ। उनलाई नागरिक अभिनन्दन पनि गरिनेछ ।
सम्मेलनमा भाग लिन सू चीसहित सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयला, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक आनन्दकुमार, जर्मन प्राध्यापक थोमस मायर, बेल्जियमका प्राध्यापक डा. जुलियन भोउ पनि नेपाल आएका छन् ।
सम्मेलनमा नेपालका तर्फबाट प्रा. डा. जयराज आचार्यले ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।
सम्मेलनपछि सू चीले संविधानसभाका सदस्यलाई सम्बोधन गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा सू चीले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गर्नुका साथै विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गर्नेछिन् भने उनी ४० वर्षअघि नेपालमा रहँदा दीक्षा लिएको काठमाडौंको नगालस्थित धर्मकीर्ति बिहारमा पनि पुग्ने कार्यक्रम छ।
सू चीले बुद्धको जन्मस्थल लुम्बिनी र सुन्दरीजलस्थित विपी कोइराला सङ्ग्रहालयको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

