थप समाचारशुक्रबार, जेठ ३०, २०७१
अनिवार्य सैन्य तालिमको प्रावधान नराखिने
३० जेठमा बसेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा ‘राष्ट्रले चाहेको बखत अनिवार्य सेवा गर्नु नागरिकको कर्तव्य हुनेछ’ भन्ने प्रावधान राख्नेमा सर्वसम्मति भएको छ ।
नयाँ संविधानमा नागरिकको कर्तव्यअन्तर्गत संविधानमै सैन्य तालिमबारे प्रावधान राख्ने कि नराख्ने भन्नेमा दलहरु स्पष्ट रुपमा दुई खेमामा विभाजन भएका थिए ।
एमाओवादीसहित केही दल १८ वर्ष पुगेका नागरिकहरुले अनिवार्य सैनिक तालिम लिनुपर्ने प्रावधानको पक्षमा थिए भने नेपाली काँग्रेस, नेकपा एमाले सहितका दलहरु यसको विपक्षमा थिए ।
बैठकपछि नेपाली कांग्रेसका उपसभापति एवम् समितिका सदस्य रामचन्द्र पौडेलले तत्कालीन राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदनलाई समितिको आजको बैठकले सर्वसम्मतिले पारित गरेको जानकारी दिए ।
उनले भने, “संवैधानिक तथा राजनीतिक समिति अतितमा देखिएका विवादका बुँदालाई सहमतिमा टुङ्ग्याएर जाने क्षमता राख्न सक्दोरहेछ भन्ने उदाहरण प्रस्तुत गरेको छ, यसले संविधान लेखनमा अघि जान राम्रो लक्ष्यण र सन्देश देखाएको छ ।”
रासस
