समाचारशुक्रबार, जेठ ३०, २०७१
बौद्धको हरियाली नासिएछ: नेतृ सू ची
४० वर्षपछि नेपाल आएकी म्यानमारकी नेतृ आङसान सू चीले पहिले नेपाल आउँदा काठमाडौं बौद्ध स्तुपा वरपर हरियो खेतैखेत देखेको तर अहिले घरमात्रै देखेको भन्दै योजनाबद्ध रुपमा शहरी विकास गर्न प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य सशांक कोइरालाले जानकारी दिएका छन् ।
तीन दिने भ्रमणका लागि ३० जेठमा नेपाल आइपुगेकी प्रजातन्त्रवादी नेत्री सू चीले प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा म्यानमारमा भन्दा नेपालमा प्रजातन्त्रको धेरै विकास भएको र यसको सक्दो सदुपयोग गर्नुपर्ने पनि बताएकी छन् ।
सू चीको भनाइ उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले भने, “म्यान्मारमा विगत ५० वर्षदेखि सैनिक शासन रहेका कारण प्रजातन्त्र फस्टाउन सकेको छैन ।”
उनले नेपालका सञ्चारकर्मीहरू खुला किसिमले प्रस्तुत भएकामा खुसी समेत व्यक्त गरेको कोइरालाले जानकारी दिए ।
प्रजातन्त्र र समाजवादको सङ्घर्षमा नेतृ सू चीका बुवा र बिपी कोइरालाको समयदेखि नै सम्बन्ध रहेकाले त्यसलाई पुनर्जीवित गर्न पनि उनी नेपाल भ्रमणमा आएको केन्द्रीय सदस्य डा. कोइरालाले जानकारी दिए ।
बिपी चिन्तन प्रतिष्ठानले राजधानीमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा नेत्री सू ची आज मध्याह्न नेपाल आइपुगेकी हुन् ।
विश्वभर स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनको सङ्घर्षको पर्याय बनेकी नेत्री सू चीले म्यान्मारको स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनका क्रममा २१ वर्ष बन्दी जीवन बिताएकी थिइन् ।

