समाचारशनिबार, जेठ ३१, २०७१
संसदमा सू ची, ‘प्रजातन्त्र गतिशिल प्रक्रिया हो’
व्यवस्थापिका–संसद्मा ३१ जेठमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै म्यानमारकी प्रजातन्त्रवादी नेतृआङसान सू चीले म्यानमारमा सेनाको प्रत्यक्ष नियन्त्रणमा रहेको लोकतन्त्र अझै पनि वास्तविक जनताको पक्षमा हुन नसकेको र केवल देखाउनका लागि मात्रै रहको बताएकी छन् ।
लामो समय सैनिक शासन रहेका कारण म्यानमारमा प्रजातान्त्रिक प्रक्रिया अगाडि बढ्न नसकेको र राजनीतिक रुपमा जनताले अधिकार प्राप्त गर्न नसकेको उल्लेख गर्दै नेतृ सूचीले शान्तिपूर्ण आन्दोलनले नै सबै खालका निरङ्कुशता अन्त्य गर्ने विश्वास व्यक्त गरिन् ।
आफूहरुले निरन्तर शान्तिपूर्ण आन्दोलनलाई अगाडि बढाइरहेको भन्दै उनले निकट भविष्यमा सफलता प्राप्त गर्ने र जनताले लोकतान्त्रिक शासन व्यवस्थाको अनुभव गर्ने बताइन् । शान्तिपूर्ण आन्दोलनले नै म्यान्मालाई क्रमशः प्रजातान्त्रिक दिशामा अगाडि बढाउँदै लगेको र सन् २०१५ मा हुने निर्वाचनले सो प्रक्रियालाई नयाँ दिशामा लैजाने उनको भनाई छ ।
नेपालको लोकतन्त्र र प्रजातान्त्रिक आन्दोलन विश्वका लागि अनुकरणीय भएको बताउँदै सू चीले नेपालमा लोकतान्त्रिक आन्दोलन विभिन्न आरोहअवरोह पार गर्दै अगाडि बढेको, राजनीतिक दल सहमति, सम्झौता र सहकार्यका साथ लागिपरेको र सो आन्दोलनले प्रजातन्त्रलाई क्रमशः संस्थागत बनाउँदै लगेको भन्दै खुशी व्यक्त गरिन् ।
नेपालको सेनाले प्रजातान्त्रिक प्रक्रियालाई आत्मसात् गरेको, राजनीतिक परिवर्तनलाई स्वीकार गरेको तर म्यान्मारमा भने त्यस खालको अवस्था नरहेको बताउँदै उनले भनिन्, ‘‘नेपालको राजनीतिक परिवर्तन र सहकार्यको संस्कृति विश्व समुदायका लागि अनुकरणीय रहेको छ, हामी सबैले यसबाट पाठ सिक्न जरुरी छ ।’’
आफ्नो दल नेसनल लिग फर डेमोक्रेसीले निरन्तर लोकतन्त्र र शान्तिका पक्षमा सङ्घर्षरत रहेको बताउँदै उनले प्रजातान्त्रिक प्रक्रिया निरन्तर रुपमा अगाडि बढ्ने गतिशील यात्रा भएको बताइन् ।
नेतृ सू चीले नेपालमा जारी संविधान निर्माण प्रक्रियाले सार्थक निष्कर्ष पाउने र नेपाली जनताको सार्थक प्रगति हुने विश्वास व्यक्त गरेकी थिइन् ।
सभामुख सुवासचन्द्र नेम्वाङले स्वागत मन्तव्य राख्दै नेतृ सू चीलाई स्वागत गर्न पाउँदा व्यवस्थापिका–संसद् र संविधानसभा अत्यन्तै आभारी रहेको बताए ।
नेपाल र म्यान्माको सम्बन्ध मैत्रीपूर्ण रहेको उल्लेख गर्दै उनले मानवाधिकार र शान्तिका पक्षमा सू चीको निरन्तरको प्रयास अनुकरणीय रहेको पनि बताएका थिए ।

