समाचारशनिबार, जेठ ३१, २०७१
भारतबाट सेनाका लागि ४० ट्रक गोलीगठ्ठा
नेपाल र भारतबीचकोे सैनिक सामग्री आयत प्रक्रियाअनुरुप नेपाली सेनाले भारतबाट गोलीगठ्ठासहितका सैनिक सामग्रीे ल्याएको छ । विगतमा द्वन्द्वको समयदेखि रोकिएका ती सैनिक सामग्री पछिल्लो संविधानसभाको निर्वाचनको समयमा सेनाले एक खेप ल्याएको थियो भने त्यसैको निरन्तरतास्वरुप भारत सरकारको सहयोगमा प्राप्त भएको केही सैनिक सामग्रीको दोस्रो खेप ३१ जेठमा नेपाल भित्रिएको हो ।
भारतबाट आउने क्रममा रहेका सैनिक तालिमका लागि आवश्यक हतियारका गोलीगठ्ठा तथा बम निष्क्रिय गर्ने विस्फोटक पदार्थसहितका सैनिक सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले बताए ।
नेपाल भित्रिएका ती सामग्री झन्डै ४० ट्रक भएको सेनाले पुष्टि गरेको छ ।
प्रधानसेनापति गौरवशम्शेर जबरा अहिले भारत भ्रमणमा छन् ।
