समाचारआइतबार, आषाढ १, २०७१
राज्यको शासकीय स्वरुपबारे छलफल शुरु
संविधान अभिलेख अध्ययन तथा निर्क्यौल समितिको तर्फबाट संविधानसभामा प्रस्तुत तत्कालीन शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमा भएका सहमति र असहमतिका विषयको निर्क्यौल सम्बन्धी प्रतिवेदनमाथि छलफल शुरु भएको हो । संविधानसभामा शुरु भएको मौलिक अधिकार सम्बन्धी छलफल सकिएसँगै १ असारदेखि राज्यको शासकीय स्वरुपका विषयमा छलफल शुरु भएको हो ।
छलफलको क्रममा एमाले सभासद भरतमोहन अधिकारीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपति हुनुपर्ने धारणा राखे । उनले दलहरुले अन्तिममा आएर समानुपातिकतर्फको सूचीमा फेरबदल गर्ने गरेको भन्दै अब त्यस्तो गर्न नहुनेमा जोड दिए ।
एमाओवादी सभासद शक्ति बस्नेतले कार्यकारी प्रमुख सहितको राष्ट्रपतीय शासन प्रणाली नै राम्रो हुने बताए । उनले आफूहरु मिश्रित निर्वाचन प्रणालीको पक्षमा रहेकाले यसबाट पछाडि हट्न नसकिने जिकिर गरे ।
कांग्रेस सभासद रामचन्द्र पौडेलले दुई सदनात्मक व्यवस्था हुनुपर्ने भन्दै जनताले चुनेको संसद र संसद प्रति उत्तदायी हुने किसिमले कार्यकारी प्रमुख सहितको प्रधानमन्त्री हुनुपर्नेमा जोड दिए ।
उनले प्रधानमन्त्रीको कार्यकाल ५ वर्षको हुन नहुने जिकिर गर्दै एउटा व्यक्ति पाँच वर्षको लागि नियुक्त हुँदा निरंकुशता धारण गर्न सक्ने भएकोले यस प्रति सचेत हुनु पर्ने समेत बताए ।
