समाचारसोमबार, आषाढ २, २०७१
सत्य निरुपण आयोगमा नियुक्तिका लागि सिफारिश समिति
सिंहदरबारमा २ असारमा बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबीन आयोगमा नियुक्तिका लागि सिफारिश समिति गठन गरेको हो । पूर्व प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको नेतृत्वमा सिफारिश समिति गठन गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।
उनका अनुसार समितिमा सपना प्रधान मल्ल, घनश्यामलाल दास, प्रदीप पोखरेल र मानव अधिकार आयोगले तोकेको सस्दयसचिव रहने छन् ।
बैठकले चुरे संरक्षण कार्यक्रमको अध्यक्षमा रामेश्वर खनाललाई नियुक्ति गरेको छ । यस्तै, दलित आयोगको अध्यक्षमा मानबहादुर नेपाली, राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा जीतबहादुर केसी, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा परासद कोइराला, सुकुम्बासी आयोगको अध्यक्षमा शारदाप्रसाद सुवेदी र प्रधानमन्त्रीको सामाजिक सल्लाहकारमा विजन पन्तलाई नियुक्ति गरेको मन्त्री रिजालले जानकारी दिए ।
मन्त्रिपरिषदले तीन सहसचिवलाई कामु सचिव बनाएर क्षेत्रीय प्रशासकको जिम्मेवारी दिएको छ । सहसचिव अर्जुन कार्कीलाई पश्चिमाञ्चल, महाश्रम शर्मालाई पूर्वाञ्चल र शंकर कोइरालालाई मध्यमाञ्चल क्षेत्रीय प्रशासकको जिम्मेवारी दिइएको रिजालले जानकारी दिए । कार्की विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक, शर्मा शिक्षा मन्त्रालय र कोइराला गृह मन्त्रालयका सहसचिव थिए ।
