समाचारमंगलबार, आषाढ ३, २०७१
पार्टीभित्र डनतन्त्र मौलाउन नदिऔंः नेता नेपाल
एमाले वरिष्ठ नेता नेपालले पार्टीभित्र मौलाउँदो डनतन्त्रलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका हुन् । हेटौंडामा ३ असार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको मौलिरहेको डनतन्त्रलाई कुनै पनि हालतमा छुट दिन नहुने बताए ।
”पार्टीभित्र डनतन्त्र मौलाइरहेको छ,” उनले भने, “हाट्टहुट्ट गर्ने, धम्क्याउने, थर्काएर जीवनयापन गर्ने कार्यकर्तालाई कारबाही गर्नुपर्छ ।” उनले पार्टी, नेता र कार्यकर्तालाई जनताको प्यारो बनाउनुपर्नेमा जोड दिए ।
कार्यकर्तालाई उत्पादनमूलक भूमिकामा जोड्दै आर्थिक क्रान्तिको नेता पार्टी बनाएर रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने उनले आफ्नो योजना सुनाए । उनले देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन समाजवादी पूँजीवादी क्रान्ति गर्नुपर्ने बताए ।
उनले अवसरवादी र गुटबन्दीबाट पार्टीलाई बचाउन आफूले भूमिका खेल्ने बताए । आफूले पार्टीभित्र गुट नचलाएको जिकिर गर्दै उनले गुटभन्दा माथि उठेर पार्टी र सरकार चलाउन सक्ने बताए ।
अशोकसुजन श्रेष्ठ, हेटौंडा
