समाचारमंगलबार, आषाढ ३, २०७१
छुरा रोपिएको मुटुको सफल शल्यक्रिया
राजधानीस्थित ग्राण्डी अस्पतालका चिकित्सकले छुरा रोपिएर प्वाल परेका डोल्पाका २४ वर्षीय विष्णुकर्ण कार्कीको सफल शल्यक्रिया गरेका छन् । अस्पतालले यस्तो शल्यक्रिया विरलै सफल हुने गरेको दाबी गरेको छ ।
“यस्तो सफल शल्यक्रिया विश्वमा विरलै हुने गर्छ,” शल्यक्रियामा संलग्न डा. उत्तमकृष्ण श्रेष्ठले भने, “मुटु नै छेडिएर प्वाल परेको अवस्थाको बिरामीको पनि हामीले सफल शल्यक्रिया गर्न सक्यौं ।”
डोल्पा रह गाविस–९ का २४ वर्षीय विष्णुकर्ण कार्कीको १ असारमा सफल शल्यक्रिया भएको हो ।
३१ जेठ दिउँसो घाइते भएका कार्कीलाई १ असारमै हेलिकप्टरबाट उद्दार गरी ग्राण्डी अस्पतालमा ल्याइएको थियो ।
यार्सागुम्बा टिप्ने विषयमा दुई समूहबीचको झगडाको क्रममा कार्कीमाथि ३१ जेठ दिउँसो छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट उनको फोक्सोमा केही चोट लाग्नुकासाथै मुटुमा प्वाल परेको थियो ।
डाक्टरहरु सञ्जय कार्की, सुभास आचार्य, उत्तमकृष्ण श्रेष्ठ, अर्चन अधिकारी, मुरारी घिमिरे, रामेश कोइराला लगायतको टोलीले उनको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
“चक्कु प्रहारबाट मुटु प्वाल परेका ९५ प्रतिशत बिरामीको मृत्यु हुने गर्छ,” डा. रामेश कोइरालाले भने, “एउटा टीम नै लागिपर्दा यो संभव भएको हो ।” अस्पतालमा उपलब्ध सुविधाले पनि त्यसमा ठूलो सहयोग पुगेको उनको भनाइ छ ।


